विज्ञानलाई बरदान मान्दै तर्क गर्ने हामी विश्वकै उच्च चेतना भएका प्राणी आज तीनै वैज्ञानिकले विकास गरेका युद्ध सामग्रीकै कारण युद्ध र अशान्तिको भूमरीमा दैनिकी विताईरहेका छौं । चेतनशिल, शिक्षित र सर्वश्रेष्ठ प्राणीको उपमाहरु गुमाउँदै पशु जस्तै एक अर्काबिच शक्तिको घमण्ड देखाउँदै एकले अर्कोलाई सिध्याउने उद्देश्यमा दैनिकी विताई रहेका छौं भन्दा दुईमत नरहला । युद्धबाटै आफु अनुकुल परिणाम ल्याउन तम्सी रहेका केहि देशहरुका कारण बाँकी विश्वका देशहरुको अवस्था भने कष्टकर बन्दै गहिरहेको छ । यस पक्षमा शक्तिशाली देश र तीनका प्रमुखहरु बेखवर जस्तै देखिन्छन् । विश्वका सबै देशको अर्थतन्त्रमा यसले प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परिरहेकै छ । कतै जापानको हिरासिंकी र नागासाकीमा जस्तै ठूला देशको जुगाँ र स्वार्थको लडाईले बाँकी विश्वलाई ध्वस्त पार्ने त होईन ? हातहतीयारको गलत प्रयोग हुने त होईन ? तेस्रो विश्व युद्ध सुरु हुने त होईन ? सोचको विषय बनेको देखिन्छ ।
यहाँ मध्यपूर्वका देशहरुको लडाईले सिर्जित कहाँलीलाग्दो र अशान्तिको कुरा मात्रै गर्न खोजिएको होईन् यसले युद्धमै संलग्न नभएका देशहरुलाई कसरी प्रभाव पारिरहेको छ सो विषय पनि उठान् गर्न खोजिएको छ । विशेषत यहाँ मध्यपूर्वका देशहरुको युद्धले विश्वका देशहरु लगायत नेपालमा बढ्दै गएको पेट्रोलिय पदार्थको मूल्यवृद्धि र अभाव, बस्तु तथा सेवाको मूल्यस्तरमा भएको वृद्धि र यसबाट कष्टकर बन्दै गएको जनताको दैनिकी तथा समग्र नेपालको अर्थतन्त्रमा यसको प्रभाव र यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । विश्वका देशहरुमा कतै न कतै युद्धका श्रृखला चलिरहेकै छन् । पछिल्लो समय युक्रेन र रुस,इजरायल र हमास, इजरायल र हेजबुल्लाह इजरायल र प्यालेस्टाइनविचको युद्ध लामो समय देखि चलिरहेकै छ । यसले आसपासका देशहरु र जनतामा त्रास सिर्जना गरेता पनि विश्वका अन्य देशलाई खासै प्रभाव पारेको थिएन् । तर पछिल्लो समय इरान – इजरायल देशहरुविचको युद्धले विश्वलाई प्रभाव पारी रहेको छ । यसको मूख्य कारण हो आफुलाई विश्वमै शक्तिशाली देशको रुपमा उभ्याएको अमेरिका र राष्ट्रपति ट्रमको सन्की शैलीले यसलाई थप बढाउदै लगेको छ । उनको यो कदमको विश्वले मात्रै होईन् अमेरिकन हजारौ नागरिक सडकमा निस्केर यस कदमको विरोध गरिरहेका छन् । विश्वका अन्य देशका नागरिकको मात्रै नभएर स्वयम अमेरिकाका नागरिकको दैनिकी बढ्दो मूल्यस्तरका कारण कष्टकर बन्दै गएको छ भने अमेरिकन सरकारको आन्तरिक ऋणको अंश पनि बढ्दै गएको छ । यसको प्रभाव अमेरिकामा मात्रै सिमित नरहेर विश्व विनिमय दर निर्धारण, अन्तराष्ट्रिय व्यापारमा अमेरिकन डलरको प्रयोगका कारण विश्व अर्थतन्त्र र जनताको दैनिकीमा यसको प्रभाव देखिएको छ । विशेष गरेर पछिल्लो इरान र इररायलविचको युद्ध, यसमा अमेरिकाको अप्रत्यक्ष संलग्नता, युद्धले तेल उत्पादक देशहरुमा समेत प्रभाव पार्दा नेपाल लगायत विश्वका धेरै देशहरुको जनजीवन प्रभावित पारेको छ । साथै युद्धका कारण तेलको उत्पादन, निर्यात गर्ने देशहरुमा समस्या उत्पन्न भई उत्पादन र बिक्रीमा कमी हुँदा यसले विश्वभर समस्या सिर्जना भएको देखिन्छ जसको कारण पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि हुँदै गएको छ भने यसले मूलयस्तरमा वृद्धि ल्याउँदा जनजीवन प्रभावित हुँदै गएको छ । पछिल्ला दिनहरुमा अमेरिकाको इरान माथिको धम्कीका विच पाकिस्तानको पहलमा इरान–अमेरिका वार्ताका समाचारहरु आएता पनि इरानले अरवीयन देशहरु माथिको हमला रोकिएको छैन् भने विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यले उकालो लागेको लागै छ । यसबाट सबै भन्दा बढी प्रभाव नेपाल जस्ता दयनिय अर्थतन्त्र भएका देशहरुलाई परिरहेको छ ।
युद्व र नेपालमा यसको प्रभाव:
नेपाल विश्वका विभिन्न देशहरुमा भएका युद्धमा संलग्न नहुँदा पनि खुला अर्थतन्त्र र यसको कारण पछिल्लो इरान –इजरायल युद्धको ठूलो क्षति वेहोर्न परिरहेको छ । व्यापारको ठूलो अंश आयातमा निर्भर, रेमिटान्समा आधारित अर्थतन्त्र, वैदेशिक रोजगारीलाई आत्मसाथ गरेको जस्ता कारणले गर्दा नेपाल मध्यपूर्व देशको युद्धका कारण उत्पन्न परिस्थितीबाट अछुतो रहन सकेन् । नेपालमा पनि यस युद्धका प्रभावहरु देखि रहेका छन् । जनजीवन प्रभावित हँुदै गएको देखिन्छ । यसको मूख्य कारण हो दिन प्रति दिन बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य जसको प्रभाव र असर हरेक क्षेत्रमा पर्ने गर्दछ । यसले सबै भन्दा बढी प्रभाव उत्पादन लागतमा पर्ने गर्दछ भने लागत बढ्दा मूल्यस्तर बढ्ने गर्दछ । जसले जनजीवनलाई असहज बनाउने गर्दछ । जसको कारण नेपाली बजारमा दैनिक उपभोग्य बस्तु तथा सेवाको मूल्य बढेको छ । जनताको दैनिकी असहज हुँदै गएको देखिन्छ । यसका साथै हवाई उडान, वैदेशिक रोजगारी, रेमिटान्स, मनोवैज्ञानिक असर जस्ता प्रभाव पर्ने देखिन्छ ।
मुख्य प्रभावहरु:
–यातायातका साधनको भाडा दरमा वृद्धि ।
–उत्पादनको ढुवानी लागतमा वृद्धि ।
–मूल्यस्तरमा वृद्धि ।
–रोजगारीमा कटौती ।
–योजना लागतमा वृद्धि ।
–वैदेशिक रोजगारी दरमा कमी ।
–पर्यटन आगमनमा कमी ।
–व्यापार घाटामा वृद्धि ।
–सामाजिक र मनोवैज्ञानीक असर ।
युद्ध र नेपालको अर्थतन्त्रमा यसको प्रभाव: आन्तरिक राजश्वको दर कम भएको नेपालको अर्थतन्त्रमा वैदेशिक ऋण तथा अनुदानको भूमिका उल्लेख्य रहेको अवस्थामा नेपालको अर्थतन्त्रमा युद्धको प्रभाव नपर्ला भन्न सकिदैन् । यसैका काराण अर्थतन्त्रका धेरै सुचकहरु मध्ये वैदेशिक मुद्रा सञ्चिती, भुक्तानी सन्तुलन, व्यापार घाटामा कमि जस्ता पक्षमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । इजरायल–इरान युद्धले विशेष गरेर ठूलो संख्यामा नेपाली रोजगारीमा रहेका साउदी अरब, कतार, संयुक्त अरब ईमिरेटस, कुवेत जस्ता देशलाई सबै भन्दा बढी प्रभाव पारेको कारण यसले वैदेशिक रोजगारी, कार्य घण्टा, तलब आदीमा नकरात्मक प्रभाव पारेको कारण रेमिटान्समा कमि आउने देखिन्छ । व्यक्ति तथा परिवारका लागि आम्दानीको ठूलो अंश उपभोग्य बस्तु तथा सेवा खरिदमा प्रयोग गर्नु पर्ने अवस्था उत्पन्न भएको छ भने देशका लागि वैदेशिक मुद्राको ठूलो अंश खर्च गरेर पेट्रोलिय पदार्थ तथा आयात व्यापार सञ्चालन गर्नु परेको छ । यसले वैदेशिक मुद्रा सञ्चितीमा असर परि रहेको देखिन्छ ।
निष्कर्ष: युद्धले उत्पन्न गर्ने गन्तव्य हानी नै हो । चाहे त्यो देश भित्रको होस्, चाहे त्यो दुई देशको होस् । उदाहरण हो युद्धले तहसनहस भएका देशहरु श्रीयां, यमन्, अफगानिस्थान, इराक, लिविया, सुडान, सोमलिया, युक्रेन । यी सबै आखा अगाडि देख्दा देख्दै पनि विश्वका शक्तिशाली ,शिक्षित देशहरुले समस्याको समाधान युद्धबाट नै हुने दिवा सपना देखिरहेको देखिन्छ । यसले ल्याउने परिणाम ध्वंस र क्षति नै हो । शक्तिशाली देशका स्वार्थ, व्यापारिक मुद्दा, आफुलाई विश्वमै शक्तिशाली रुपमा उभ्याउने चाहनाका कारण विभिन्न देशहरुविच युद्ध भैरहेको देखिन्छ । तर यसले विश्वभरकै जनजीवनलाई कति असर गर्दछ यस तर्फ देशहरुको ध्यान जानु जरुरी छ । समाधानको एउटै उपाय वार्तानै भएकाले युद्धलाई प्रोत्साहन गर्ने देशहरुले यसतर्फ ध्यान दिन जरुरी देखिन्छ । सबै प्रकारका युद्धहरु,अशान्तिहरु रोकियोस्र । वार्तालाई समस्या समाधानको हतियार बनाईयोस् ।, सर्वश्रेष्ठ, सचेत नागरिकले सर्वश्रेष्ठ प्राणीको रुपमा जीवनयापन गर्न पाईरहुन् । यहि कामना गरौं । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

