Shittalpati
पाल्पाका सात मतदान केन्द्र महिलाको जिम्ममा

पाल्पा,पाल्पाका सात मतदान केन्द्र महिलाको जिम्ममा छोडिएको छ । आज हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी महिला रहेका छन् ।

यहाँको तानसेन–४स्थित त्रिभुवन बहुमुखी क्याम्पस ‘ख’ केन्द्र,  वडा नम्वर –३ स्थित बालमन्दिर आधारभूत विद्यालय ‘क’ केन्द्र, अस्थायी मतदान केन्द्र कारागार कार्यालय, अस्थायी मतदान केन्द्र टुँडिखेल, रामपुर–७ स्थित आधारभुत मावि डुम्रीगाउँ ‘ख’, रम्भा गाउँपालिका–१, हुँगीस्थित जनकल्याण मावि हुँगी ‘ख’, तानसेन–८ मदनपोखरास्थित शारदा मावि ‘ग’, केन्द्रमा महिलाकै नेतृत्व र महिलाकै टिम खटिएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले जानकारी दिए । बालमन्दिर ‘क’ केन्द्रमा जिल्ला प्रशासन कार्यालयकी अधिकृत रमा श्रेष्ठ, त्रिभुवन बहुमुखी क्याम्पस ‘ख’ मा तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । यस्तै कारागार अस्थायी मतदान केन्द्रमा पाल्पा जिल्ला अदालतकी नायब सुब्बा अम्बिका पाठक, टुँडिखेल अस्थायी मतदान केन्द्रमा त्रिभुवन मावि अर्गलीकी शिक्षक लक्ष्मी भण्डारी मतदान अधिकृतका रुपमा खटिएका छन् । यस्तै आधारभुत मावि डुम्रीगाउँ ‘ख’ मा रम्भा माविकी शिक्षक मञ्जु कोइराला, जनकल्याण मावि हुँगी ‘ख’ केन्द्रमा भानुभक्त माविकी शिक्षक कविता पन्त, शारदा मावि ‘ग’ केन्द्रमा सिद्धी मावि आर्यभन्ज्याङ्गकी मावि शिक्षक ममता ज्ञवालीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । 

यी केन्द्रहरुमा निर्वाचन प्रहरी र सुरक्षाकर्मी पनि महिला नै खटाइएको छ । मतदान अधिकृत रमा श्रेष्ठले महिला कर्मचारी मात्र खटिएको मतदान केन्द्रमा काम गर्न पाउँदा गर्व र उत्साह महसुस भएको बताइन् । उनले भनिन्, “हामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नेछौँ ।” महिला सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त केन्द्रलाई महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत पंगेनीले बताए । दुई निर्वाचन क्षेत्र रहेको पाल्पाका स्थायी २ सय ५१ र दुई अस्थायी गरी २ सय ५३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न २ हजार बढी कर्मचारी खटिएका छन् । ती केन्द्रमा १ हजार ५ सय बढी कर्मचारी खटाइएको छ भने ५ सय बढी स्वयंसेवक मतदान केन्द्रमा खटिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी तीन र एक जना सहयोगी खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update