Shittalpati
पाल्पामा काँग्रेस उम्मेदवारको घर दैलो : मतदाता भन्छन् ‘यसपाली गगन सरकार नै हो’

पाल्पा,  जिल्लाको रैनादेवी छहराका कृष्ण कार्कीले तेस्रो पटक मदान गर्दै छन् । यस पटक भने उनले मत परिवर्तन गर्दै छन् । कार्की भन्छन् “यस अघिका निर्वाचनमा एउटै पार्टीलाई भोट दिएर जितायौं तर जितेपछि गाउँ फर्किएर कहिल्यै आएनन्, यस पटक भने मत बदल्ने सोच बनाएको छु ।” उनको रोजाईमा युवाको भावनालाई समेट्न सक्ने क्षमता भएको उम्मेदवार पर्ने छन् । मुलुकमा रोजगारीको वातावरण सिर्जना गरी मुलुक मै स्वरोजगार बनाउन सक्ने क्षमता भएको उम्मेदवारलाई मतदान गर्ने उनको मुड छ । कार्कीले यस पटक नयाँ सोच र नयाँ फिजनसहित आएको नेपाली काँग्रेसका उम्मेदवारलाई भोट हाल्ने बताए । उनले भने “ यस पटक काँग्रेस बदलिएर आएको छ, गगन जस्तो युवा, नयाँ, सोच र भिजन भएको व्यक्तिलाई प्रधानमन्त्री भएको देख्न मन छ,  हाम्रो  क्षेत्रमा पनि नयाँ युवा उठ्नु भएको छ ,उहाँहरुले केही गर्नु हुन्छ भन्ने लागेको छ ।” तिनाउका थर्क बहादुर मगरले पनि युवालाई नै मतदान गर्ने बताउँछन् । पूरानो सोंच र चिन्तन भएका उम्मेदवारलाई क्रियाशील राजनीतिबाट बिदाई गर्ने इच्छा रहेको उनको भनाई छ । मगरले जितेर गाउँ नफर्किनेहरूलाई यस पटक भोट नदिने बताए । उनले भने “यस पटक गगन थापाको नेतृत्वको सरकार बनेको हामी हेर्न चाहन्छौं ।” नेपाली काँग्रेस पाल्पा क्षेत्र नं. २ बाट  प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हिमालदत्त श्रेष्ठलाई सो क्षेत्रका बासिन्दाले ‘जितेपछि तपाईँ पनि नआउने होला’ भन्दै शंका व्यक्त गरे ।  यहाँका स्थानीयले श्रेष्ठलाई भने, ‘हामी तपाईँलाई नै भोट दिन्छौं, तर हामीलाई बिर्सन पाउनु हुन्न ।’ उम्मेदवार श्रेष्ठले भने आफुले जिते पनि हारे पनि जनता र यस क्षेत्रकै विकासमा सधै सँगै हुने बताए । 

पटक–पटक जिताएको उम्मेदवार गाउँ नफर्किएको भन्दै गुनासो गरेका मतदाताले विकासको बारेमा आफ्नै प्रतिनिधिसँग समेत कुरा राख्ने अवसर नपाएको बताए । यसअघि जिताएका उम्मेदवारलाई देख्न नपाएपछि उनीहरूले असन्तुष्ट व्यक्त गरिरहेका छन् ।
निस्दी गाउँपालिका मित्यालका कमल सुनारी पनि युवालाई नै मतदान गर्ने बताउँछन् । पहिलो पटक मतदान गर्न लागेका उनी भन्छन् “पटक पटक हाम्रा बुवा आमाले एउटै पार्टीलाई वर्षौदेखि भोट हाल्नुभयो तर जिताएर पठाएका नेताले हाम्रो गाउँमा केही पनि गर्नु भएन, अब त हामीले मत परिवर्तन गर्दैछौं ।” उनले २१ गते हुने निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेका मगर समुदायकै सन्दिप रानालाई मत दिने बताए । सुनारीले भने “ हाम्रै समुदायको व्यक्ति पनि हुनुहुन्छ, उहाँलाई जिताएर पठायौं भने गगन थापा प्रधानमन्त्री भएर हाम्रो देशमा केही हुन्छ भन्ने हामी जस्ता युवाहरुलाई लागेको छ । ” गगन थापाको योजना र सोंच सुन्दा यस पटक काँग्रेसलाई भोट हाल्ने उनको भनाई छ ।   नेपाली काँग्रेसले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा नयाँ र उर्जाशिल युवाहरुलाई उम्मेदवार बनाएपछि युवादेखि वृद्धवृद्धासम्म उत्साह छाएको छ ।  विगत लामो समयदेखि यहाँका राजनीतिक दलहरुले एउटै व्यक्तिलाई पटक–पटक  उम्मेदवार बनाउने र उनीहरुबाट कुनै पनि काम नभएपछि निराशा बनेका पाल्पाका मतदाता यस पटक भने नेपाली काँग्रेसले नव युवाहरुलाई चुनावी मैदानमा पठाएपछि भने उत्साह छाएको हो ।

पाल्पा निर्वाचन क्षेत्र नम्बर १, २०५१ सालदेखि नेकपा एमालेले मात्रै जित्दै आएको निर्वाचन क्षेत्र हो । यस पटक पनि अघिल्लो निर्वाचनमा एमालेबाट विजयी भएका नरायण आचार्य चुनावी मैदानमा छन् । नेपाली काग्रेसबाट सन्दिप राना, रास्वपाबाट विमल पन्त, नेकपाबाट हुम बहादुर सुनारी, नेकपा माओवादीबाट पुरन गैरे सहित १३ जना उम्मेदवार मैदानमा छन् । यता क्षेत्र नं. २ मा पनि  पटक पटक एमालेले जित्दै आएको छ । गत निर्वाचनमा एमालेबाट निर्वाचित ठाकुर गैरे यस पटक पनि चुनावी मैदानमा छन् । तर यस पटक भने काँग्रेसबाट उम्मेदवार बनेका युवा नेता हिमालदत्त श्रेष्ठले काँग्रेसको विगतको  साख फर्काउने प्रयासमा छन् । उनीसँगै नेकपाबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर क्ुंवर राष्ट्रिय जनमोर्चाबाट विशाल दर्लामी लगायतका उम्मेदवारहरु चुनावी मैदानमा छन् । यस पटक यहाँका दुवै क्षेत्रमा  एमालेको बलियो पकडलाई चुनौती दिन सक्ने बलियो उम्मेदवारका रुपमा  काँग्रेसका दुवै उम्मेदवारलाई हेरिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update