Shittalpati
पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्छौं : काँग्रेस उम्मेदवार श्रेष्ठ

पाल्पा, पाल्पा  क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका  युवा नेता हिमादत्त श्रेष्ठले  पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्ने बताएका छन् । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि  गाउँ गाउँ पुगेर मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका उनले मतदाताहरुसँग पाल्पालाई मुहार फेर्ने गरी काम गर्ने भन्दै अब पाल्पामै बस्ने वातावरण बनाउने बताएका हुन् ।

उनले पछिल्लो समय मानिसहरु बसाईसराई गरी जिल्ला छोड्न थालेको प्रति चिन्तित हुँदै भने अब  निर्वाचनपछि बन्ने गगन सरकारले बसराई सराई रोक्ने र जिल्लामै अवसर सिर्जना गरी गाउँमै बसौं बसौं जस्तो बनाउने दावी गरे । उनले भने “ पाल्पामा थुप्रै सम्भावनाहरु छन् तिनीहरुको पहिचान गरी आर्थिक उत्पादनसँग जोड्ने हाम्रो संकल्प छ । उहाँको कृषि र पर्यटनमार्फत हामीले समृद्ध ल्याउन सकिन्छ , त्यो दिशामा काँग्रेसले दिर्घकालीन योजना बनाई सकेको छ । ” लगानीमैत्री, समुन्नत पाल्पाको परिकल्पना गर्दै पूर्वाधार क्षेत्रको योजनावद्ध विकासमा काम गर्ने पनि उनले जनाएका छन् । श्रेष्ठले गाउँमा नै रोजगारी, गाउँमा नै धन, स्वदेशमा नै उद्यम युवाको मन, पर्यटकीय क्षेत्रमा दीर्घकालीन सोच, पर्यटनस्थल आयको स्रोत, पाल्पालाई शैक्षिक हब बनाउने, पाल्पामै उपचार, पाल्पाबासीको अधिकार, पारदर्शी नीति,विधिको शासन, सेवाग्राही मैत्री झन्झटमुक्त प्रशासनलगायतका एजेन्डा अघि सारेका छन् ।

उनले कृषि र पर्यटनका  क्षेत्रमा  पाल्पा प्रचुर सम्भावना भएको  भन्दै त्यसका लागि दिर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे । नेता श्रेष्ठले भने “ दिर्घकालीन योजना र भिजन भएको व्यक्ति केन्द्रीय पहुँच नहुँदा सम्भावना भएर पनि पाल्पा पछि परेको छ, यसका लागि भिजन भएको व्यक्ति अहिलेको आवश्यकता हो । ” उनले आफुसँग पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउन सक्ने स्पष्ट भिजन र योजना रहेकाले एक पटक भारी मतले विजयी बनाएर संसदमा पठाइदिन मतदाताहरुलाई आग्रह गरे । नेता श्रेष्ठले भने “ पाल्पालाई समृद्ध बनाउने स्पष्ट भिजन म सँग छ । त्यो भिजनलाई कार्यान्वयन गर्न यहाँले मलाई एक पटक संसद्मा जाने मौका दिनुहोस् , म पाँच वर्ष भित्रमा पाल्पालाई देशकै नमूना र समृद्ध जिल्लाको रुपमा चिनाउन्छु ।” उनले अहिले चुनावी अभियानलाई तीब्रता दिएका छन् । आधिकारिक उम्मेदवारको टुंगो लागेसँगै गाउँ छिरेका श्रेष्ठ टोलीसहित घरदैलो गरिरहेका छन् । डेढ दशक सक्रिय राजनीतिमा बिताएका उनी हालसम्म राज्यको लाभको पदमा पुगेका छैनन् । तर यस पटक जसरी भए पनि संघीय संसद छिर्नेगरी मतदाताको मन जित्ने प्रयासमा उनी छन् । युवा, वृद्धा र पार्टीपंक्ति सबैको साथ पाएका श्रेष्ठले आफ्नो माहोल सकरात्मक भएको प्रतिक्रिया दिने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update