पाल्पा, नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. १ र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरायण अचार्य र ठाकुर प्रसाद गैरेले स्थानीय विकासका लागि एमालेले सुरु गरेका योजनाहरूलाई तार्किक निष्कर्षमा पुर्याउन आफुहरुको पुनः उम्मेदवारी रहेको बताएका छन् ।
चुनावी घरदैलो अभियानका क्रममा उनीहरुले मतदाताहरुसँग सोही वाचा गरेका छन् । आज तिनाउ गाउँपालिकाको वडा नं. २ दोभान र वडा नं. ३ को ज्यामिरे पुगेका क्षेत्र नं २ का उम्मेदवार गैरेले स्थानीयवासीसँगको छलफलमा भने “पाल्पाको विकास र समृद्धिका लागि नेकपा एमालेले स्पष्ट खाकासहित काम गरिरहेको छ । विगतमा सुरु भएका सडक, खानेपानी र पूर्वाधारका अधुरा कामहरू पूरा गर्न हामी प्रतिवद्ध छौँ ।”
नेता गैरेले तिनाउ क्षेत्रको मुख्य समस्याको रूपमा रहेको सिद्धार्थ राजमार्गको स्तरोन्नति, दोभान–ज्यामिरे क्षेत्रका भित्री सडकहरूको ग्राभेल तथा कालोपत्रे र स्थानीय कृषि उत्पादनको बजारीकरणलाई आफूले विशेष प्राथमिकतामा राखेको उल्लेख गरे । “जनताका समस्या सुन्ने र त्यसलाई सदनसम्म पु¥याउने काममा म सधैं दत्तचित्त रहनेछु,” उनले थपे । घरदैलोका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य र सिँचाइको असुविधा र दोभानमा बढ्दो सहरीकरणसँगै शहरी व्यवस्थापनको माग राखेका थिए । जवाफमा उम्मेदवार गैरेले एमालेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य स्थानीय स्तरबाटै कार्यान्वयन हुने विश्वास दिलाए ।

यस्तै क्षेत्र नं. १ का उम्मेदवार आचार्यले पनि को यसपटकको उम्मेदवारी केवल पदका लागि मात्र नभई, पाल्पाको अधुरा विकासलाई पूर्णता दिने र जनताको सेवा गर्ने अटुट इच्छाशक्तिको उपज भएको बताए । उम्मेदवार आचार्यका चुनावी एजेण्डामा पाल्पाको आर्थिक मेरुदण्डका रूपमा रहेका कृषि, पर्यटन, खानी र वनजन्य क्षेत्रको योजनाबद्ध विकास प्राथमिकतामा छन् । उनले गाउँ–गाउँका कच्ची सडकको स्तरोन्नति, अधुरा खानेपानी योजना सम्पन्न, र रामपुर, निस्दी, रम्भापानी एवं माथागढी, पूर्वखोलालगायतका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा तीव्र पूर्वाधार निर्माणलाई मुख्य कार्यभार रहेको बताए । त्यस्तै, नियमित विद्युतीकरण, कृषिको व्यावसायीकरण र यान्त्रिकीकरणमार्फत युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उनको योजना छ । स्वास्थ्यका लागि खेलकुदको महत्व बुझ्दै सराई, रामपुर, जल्पा, अर्सेदी र ताहुँ नाचनडाँडा खेलमैदानलाई व्यवस्थित गर्ने संकल्प पनि उम्मेदवार आचार्यले अघि सारेका छन् ।


