पाल्पा, नेपाली काँग्रेस पाल्पाले जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार काँग्रेसले तानसेनको शितलपाटीमा पत्रकार सम्मेलन गरी चुनावी संकल्प स्वरुप घोषणा पत्र सार्वजनिक गरेको हो ।
काँग्रेस पाल्पा क्षेत्र नंं. २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले आगामी पाँच वर्षलाई पाल्पाको विकास र समृद्धिको दिशामा रूपान्तरण गरी मुहार फेर्ने उद्घोष गरेका छन् । घोषणा पत्र सार्वजनिक गर्दैै उनले कांग्रेस पुरानो इतिहासको जगमा उभिएको भए पनि नयाँ सोच र संकल्पका साथ अघि बढेको बताएका छन् । उनले २००७, २०१५, २०३६ र २०४६ का आन्दोलनबाट प्रेरणा लिने गरेको उल्लेख गर्दै आजका कमजोरी स्वीकार्दै नयाँ पुस्ताको आवाज सुनेर पार्टी बदल्न तयार रहेको बताएका छन् । भ्रष्टाचारलाई नेपालको ‘महारोग’को संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरू हुनुपर्नेमा जोड दिएका छन् ।

घोषणा पत्रमा पाल्पाको चौतर्फी विकास र नागरिकको जीवनस्तर सुधारका लागि स्वास्थ्य, पर्यटन, कृषि र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । “जीवन बीमालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सार्दै स्वास्थ्य सेवामा आमूल परिवर्तन गर्ने लक्ष्य छ । सार्वजनिक भएको घोषणापत्रमा उम्मेदवार श्रेष्ठले त्रिभुवन बहुमुखी क्याम्पसलाई पर्यटन तथा प्राविधिक विश्वविद्यालय बनाउन पहल गर्ने, एक पालिका एक आवासीय विद्यालय बनाउने, पढ्दै कमाउदै शिक्षालाई कार्यान्वन गर्न पहल गर्ने बताए । पाल्पा अस्पताललाई एक सय वेडमा स्तरोन्नति गरिने, हरेक पालिकामा कम्तीमा १५ शैयाको अस्पताल सञ्चालन गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने, स्वास्थ्य बीमामा रहेको झन्झटिलो ’रेफर’ प्रक्रियालाई हटाएर जुनसुकै रोगको निःशुल्क उपचारको पहल गर्ने, पाल्पालाई पर्यटकीय ’हब’ बनाउन रानीमहल क्षेत्र र रामपुरको तालपोखरालाई जलाशययुक्त तालका रूपमा विकास गरी राष्ट्रिय गौरवको आयोजना बनाउन जोड दिइने, ऐतिहासिक मठमन्दिर, गुम्बा, चर्च र मस्जिदहरूको संरक्षण गर्दै भगवती जात्रा, लाखे नाच र अन्य लोपोन्मुख संस्कृतिलाई प्रर्वद्धन गरिने, कालीगण्डकी करिडोरमा जल यातायातको सम्भाव्यता अध्ययन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी जिल्लाको आयआर्जन बढाउने घोषणापत्रमा उल्लेख छ । किसानका लागि टाउको दुखाइ बनेको बाँदर र जंगली जनावरको समस्या समाधान गर्न आवश्यक कानुन निर्माणा गरी ‘आतंक’ बन्द गरिने, एक वडा एक उत्पादन’को अवधारणा मार्फत सुन्तला, अदुवा, टिमुर र बेसार खेतीलाई व्यावसायिक बनाइने, माडी, अर्गली र कचल लगायतका क्षेत्रमा सिँचाइको उचित प्रबन्ध गरी दुध र मासुमा जिल्लालाई आत्मनिर्भर बनाउन शीत भण्डारको लागि पहल गर्ने उम्मेदवार श्रेष्ठले घोषणापत्रमा उल्लेख गरेका छन् । भौतिक पूर्वाधारलाई विकासको मेरुदण्ड मान्दै सिद्धार्थ राजमार्गलाई डवल डेडिकेट बनाउने र जिल्लाका अन्य मुख्य सडकहरूको स्तरोन्नतिलाई प्राथमिकता दिने, कुनै पनि नियुक्तिमा दल होइन, अब्बल व्यक्ति हुनुपर्ने भन्दै सुशासनको क्षेत्रमा समेत नयाँ प्रतिबद्धता उम्मेदवार श्रेष्ठले घोषणापत्रमा उल्लेख गरेका छन् । केन्द्रिय घोषणापत्रमा आधारित रहेर पाल्पाको पनि घोषणपत्र जारी भएकोले गगन सरकार बनेपछि योजना कार्यान्वयन हुने उम्मेदवार श्रेष्ठले दावी गरे ।

उम्मेदवार श्रेष्ठ, पार्टीका केन्द्रिय सदस्य राजेन्द्र गोपाल सिंह, निवर्तमान जिल्ला सभापति विरबहादुर राना, पुर्व केन्द्रीय सदस्य हरिप्रसाद नेपाल, कार्यवाहक पार्टी सभापति झपेन्द्र गहिरे, पार्टी सचिव सुनिता अधिकारी, क्षेत्र नं. २ का सभापति मुक्तिराम जिसी, काँग्रेस नेताहरु कृष्णप्रसाद बस्याल, राम कार्की, विधान श्रेष्ठ लगायतले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजेन्द्र गोपाल सिंहले युवा नेता गगन थापाको नेतृत्वमा बदलिएको काँग्रेसलाई देश बदल्न काँग्रेसका उम्मेदवार जिताउन रुखमा मतदान गर्न मतदातासँग अपिल गरे । पुर्व केन्द्रिय सदस्य हरि प्रसाद नेपालले २०४८ सालमा काँग्रेसले पाल्पाका ३ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरी शुरु गरेका थुप्रै विकास निर्माण योजना अहिलेसम्म अन्य पार्टीले कार्यान्वयन नगरेकोले काँग्रेस उम्मेदवारहरुलाई मत दिई विजयी बनाउन अनुरोध गरे । निवर्तमान जिल्ला सभापति विर बहादुर रानाले पाल्पाको दुई वटै निर्वाचन क्षेत्रमा जेनजीको भावना बुझ्ने, कुनै पनि दाग नलागेका स्वच्छ छवी बनाएका सामाजिक राजनीतिक सेवामा लामो समयदेखी सक्रिय युवा उम्मेरवार हिमालदत्त श्रेष्ठ र सन्दीप रानालाई जनताले यस पटक विजयी बनाउने विश्वास लिएको बताए । कार्यवाहक सभापति झपेन्द्र गहिरेको सभापतीत्व,सचिव सुनिता अधिकारीको सञ्चालनमा घोषणापत्र सार्वजनिक कार्यक्रमको भएको थियो ।



