पाल्पा, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पा क्षेत्र नं. २ लाई केन्द्रीत गरी २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले तानसेनलाई ऐतिहासिक र पर्यटकीय आकर्षणको केन्द्र बनाउनुका साथै शिक्षा, स्वास्थ्य र कृषिमार्फत रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्यसहित प्रतिबद्धतापत्र ल्याएका हुन् ।
तानसेनलाई मौलिक शैलीमा (तेलिय इँटा÷भक्तपुरे इटाको प्रयोग गरी सुन्दर सहर बनाउने र काठमाडौ पछिको प्रमुख बुद्धमार्गी क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम उम्मेदवार पाण्डेयले अगाडि सारेका छन् । उनले सिद्धबाबा–तानसेन–भैरवस्थान–रानीमहल–राम्दी जोडेर एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने योजना पनि ल्याएका छन् । पाल्पाको पहिचानका रूपमा रहेको मगर संस्कृतिलाई विश्वमा चिनाउन ‘मगर सङ्ग्रहालय’ र ‘मगर गाउँ’ स्थापना गर्ने उनले संकल्प गरेका छन् । उम्मेदवार पाण्डेले शिक्षा क्षेत्रको विकासका लागि त्रिभुवन बहुमुखी क्याम्पसलाई शैक्षिक अनुसन्धान केन्द्र बनाउने र तानसेनलाई आवासीय शैक्षिक हबका रूपमा विकास गर्ने उल्लेख गरेका छन् । स्वास्थ्यतर्फ पाल्पा अस्पतालको स्तरोन्नति र युनाइटेड मिसन अस्पताललाई अन्तर्राष्ट्रियस्तरको मेडिकल रिसर्च सेन्टर बनाउने योजना पाण्डेयले अघि सारेका छन् । यातायात सहज बनाउन सिद्धार्थ राजमार्गको बुटवल–तानसेन–राम्दी खण्डलाई ३ वर्षभित्र स्तरोन्नति गर्ने र हार्थोक–छहरा मोटरबाटो २ वर्षभित्र कालोपत्रे गर्ने, तानसेनमा ३५०० सिट क्षमताको अन्तर्राष्ट्रिय स्तरको ‘स्मार्ट सभाहल’ निर्माण गरी ’इभेन्ट टुरिज्म’को प्रवद्र्धन गर्ने प्रतिवद्धतापत्रमा पाण्डेले उल्लेख गरेका छन् ।
बढ्दो बसाइँसराई रोक्न पाण्डेयले स्थानीय उत्पादनमा वृद्धि गर्न, सुन्तला, कफी, अदुवा, र एभोकाडोका लागि पकेट क्षेत्र घोषणा गर्ने तथा बाँझो जमिन सदुपयोग गरी युवाहरूलाई स्वरोजगार बनाउने प्रतिबद्ध जनाइएको छ । किसानहरूका लागि वन्यजन्तुबाट हुने क्षति रोकथाम गर्न कानुन निर्माण र क्षतिपूर्तिको पहल गर्ने उनले बताएका छन् । साथै उम्मेदवार पाण्डेयले एङ्गलो–नेपाल वार नेपाल अग्रेज युद्ध पार्क निर्माण, नेवारी घर निर्माण देखी टक्सार टोललाई लिभिङ म्युजियमको रुपमा स्थापना गर्ने ५ वर्षभित्र पाल्पामा शिक्षा, स्वास्थ्य, र खानेपानीको शतप्रतिशत पहुँच पुर्याउने र सिद्धार्थ राजमार्गको चिडायाखोला देखी राम्दी सम्मको दुवैतर्फ वृक्षारोपण र फल्चाहरू निर्माण गरी सौन्दर्यकरण गर्ने ृनले बताएका छन् । आफु पाल्पाली जनताको खुला किताव भएको, सबैको साझा उम्मेदवार दावी गर्दै फागुन २१ गते हुने निर्वाचनमा तारा चिन्हमा मतदान गरी विजय बनाउन पाल्पाली जनतासँग उनले अपिल गरेका छन् । पत्रकार सम्मेलनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको निर्वाचन परिचालन समितिका संयोजक यादवबहादुर रायमाझीले भिजन, योजना भएको एक मात्र व्यक्ति सोमप्रसाद भएकाले निर्वाचनमा विजयी गराउन सबैलाई आग्रह गरे । कार्यक्रम रायमाझीको अध्यक्षता, पार्टीका निर्वाचन प्रचार–प्रसार संयोजक अनिल किशोर घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।


