✍️ज्योतिष मुकुन्द पोखरेल
प्राचीन कालमा जब मानवजातिको उत्पत्ति भयो, तब उसले आकाशमा सूर्य, चन्द्र तथा ग्रह–नक्षत्रहरूको निरीक्षण गर्न थाल्यो। आकाशमा चन्द्रमाको उदय–अस्त, कलाको वृद्धि र क्षय, एक दिन पूर्णिमा भई पूर्ण प्रकाशित हुनु र अर्को दिन पूर्णतः अस्त हुनुजस्ता घटनाहरूले उसलाई अत्यन्त आश्चर्यचकित पार्थ्यो। यसरी धेरै वर्ष बित्दै जाँदा मानवले यी घटनाहरूलाई काल–निर्णयको आधारका रूपमा प्रयोग गर्न थाल्यो। अमावस्यादेखि अमावस्यासम्म तथा पूर्णिमादेखि पूर्णिमासम्म एक महिना, र बाह्र महिनालाई एक वर्ष मानेर समय–गणनाको क्रम निर्माण गरियो।
त्यसपछि यस ज्ञानको उपयोग मुहूर्तशास्त्र र धर्मशास्त्रका क्षेत्रमा हुन थाल्यो। मानव–सभ्यता जति विकसित हुँदै गयो, त्यति नै ज्योतिषशास्त्रको अनुसन्धान पनि विस्तार हुँदै गयो र कुण्डली–शास्त्रको प्रादुर्भाव भयो। साथै द्वादश भाव, द्वादश राशि तथा नवग्रहको अवधारणा पनि स्थापित भयो। प्राचीन ग्रन्थहरूको अवलोकन गर्दा थाहा हुन्छ कि राजा–महाराजाहरूको भविष्य कथन गर्न तथा कुनै जीवले परमेश्वरको स्मरण गर्नेछ कि गर्नेछैन भन्ने जान्न पनि यस शास्त्रको प्रयोग गरिन्थ्यो।
अब वेदान्त र ज्योतिषशास्त्रबीचको सम्बन्धबारे विचार गरौँ। वेदान्त अनुसार माया ब्रह्मबाट उत्पन्न हुन्छस मायाबाट पञ्चमहाभूत र पञ्चमहाभूतबाट सम्पूर्ण सृष्टिको सृजन हुन्छ। यही वेदान्तको क्रम हो। ज्योतिषशास्त्रमा सूर्यलाई मूल तत्त्व मानिएको छ। सूर्यबाट चन्द्रको उत्पत्ति र सूर्य–चन्द्रको समन्वयबाट सृष्टिको निर्माण भएको मानिन्छ।
खगोलशास्त्रले प्रमाणित गरिसकेको छ कि आकाशमा देखिने ग्रहहरू पृथक–पृथक अस्तित्व भएका छन् र ती सबै सूर्यको वरिपरि परिक्रमा गरिरहेका छन्। हाम्रो पृथ्वी पनि तीमध्ये एक हो। यी सम्पूर्ण ग्रहहरूको सञ्चालक तथा प्रेरक शक्ति सूर्य नै हो। सूर्य स्थिर, तेजोमय तथा समस्त ग्रह र लोकलाई जीवन प्रदान गर्ने स्रोत हो। आफ्नो आकर्षण–शक्तिद्वारा सूर्यले सबैलाई नियन्त्रित राख्छ र सम्पूर्ण जगत्को साक्षीस्वरूप रहन्छ। यसैले ब्रह्म र सूर्य समान धर्मयुक्त मानिन्छन्।
जसरी माया ब्रह्मबाट प्रकाश ग्रहण गरी अरूलाई प्रकाश दिने परप्रकाशी शक्ति हो, त्यसरी नै चन्द्रले सूर्यबाट प्रकाश लिएर पृथ्वीलाई प्रकाशमान बनाउँछ। माया चञ्चल र बहुरूपी छस चन्द्र पनि चञ्चल तथा विभिन्न कलायुक्त रूपमा देखिन्छ। यस प्रकार दुवैमा समान गुणधर्म विद्यमान देखिन्छ। यसरी हेर्दा वेदान्त र ज्योतिषशास्त्रबीच गहिरो समानता रहेको स्पष्ट हुन्छ।
सञ्चित कर्मबाट जुन प्रारब्ध कर्म प्रकट हुन्छ, त्यसअनुसार मानवले जीवनको अन्तिम क्षणसम्म सुख–दुःखको भोग भोग्नुपर्छ। तर क्रियमाण कर्मको त्याग गरी जन्म–मृत्युको परम्परा क्षीण पार्दै वेदान्तको मार्गद्वारा मानवले यही जन्ममै मोक्ष प्राप्त गर्न सक्छ। ज्योतिषशास्त्रले पनि पूर्वकर्मकै विचार गर्छ र शुभ कर्मको फल भोग्न तथा अशुभ कर्मको त्याग गर्न प्रेरित गर्छ। साथै, भविष्यमा कुनै पनि अशुभ कर्म नहोस् भनी अत्यन्त सतर्क रहन पनि उपदेश दिन्छ।
मूलतः वेदान्त र ज्योतिषशास्त्रको तत्त्व एकै हो—वेदान्त ज्ञानीहरूको मार्ग हो भने ज्योतिष अज्ञानीहरूलाई मार्गदर्शन गर्ने साधन हो। आगामी परिच्छेदमा ब्रह्म ९सूर्य० को विषयमा विस्तृत चर्चा गरिनेछ।


