मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । तर हिजो आज त्यही भाषा मर्न थालेको छ । मुलुकमा बोलिने करिब एक सय भन्दाबढी मौलिक भाषामध्ये ४० प्रतिशतजति संकटमा हुनु परम चिन्ताको विषय हो । हजारभन्दा कम वक्ता रहेका ३७ वटै भाषा संकटमा छन् । विद्यालयमा नपढाइने राउटे, साम, मनाङे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, वनकरिया, काइके लगायतका भाषाहरू सार्वजनिक जीवनमा पनि कम प्रयोग हुँदै गइरहेका छन् । यो अत्यन्तै चिन्ताको विषय हो ।
विश्वभरै एकतिहाइजति भाषाका वक्ता हजारभन्दा कम छन्, र तीमध्ये हरेक दुई सातामा एउटा भाषा मर्दै गैरहेको छ । यही रीतले मृत भाषाहरूको सूचीमा नेपालका यी प्राचीन भाषाहरू पनि नचढून् भनेर हाम्रा नीतिनिर्माताहरू चिन्तित हुनैपर्छ । आजसम्म अस्तित्वमा रहेका भाषाहरू भोलिका दिनमा लोप हुँदै गए भने त्यो वर्तमान पुस्ताको एउटा ठूलो अपराध ठहरिनेछ । तथ्यांकमा उल्लेख नेपालका भाषाहरू साँच्चै जीवित छन् कि छैनन् ? स्वयं राज्यलाई थाहा छैन । तथ्यांक जप्दै सरकारका आधिकारिक निकायहरू कानमा तेल हालेर बसेका छन् । भाषाशास्त्रीहरू चाहिंँ ‘दिनदिनै मातृभाषा मर्दैछन्’ भनी भविष्यवाणी गरिरहेका छन् । विश्वव्यापी रुपमा मातृभाषाको महत्वलाई बुझाउँदै यसको संरक्षणको लागि हरेक वर्ष फेब्रुअरी २१ तारिखका दिन विश्वभरि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आज नेपालसहित विश्वर यो दिवस मनाइँदै छ । हरेक वर्ष यो दिवस मनाइने गरिए पनि मातृभाषा लोप हुने अवस्थामा पुग्नु दुखद् हो । नेपालमा भाषा ऐन बनेको छैन । संघ, प्रदेश र स्थानीय सरकारले भाषासम्बन्धी कुनै काम गर्न सकेका छैनन् । जसका कारण मातृभाषा लोपउन्मुख अवस्थामा पुगेको हो । नेपालको संविधान (२०७२)ले नेपालमा बोलिने सबै भाषा ‘राष्ट्रभाषा’को संज्ञा दिएको छ । तर नारामात्र बनेको छ । संघीय, प्रदेश र स्थानीयमा यो दिवसको महत्व झल्काएर अघि बढ्नुपर्ने देखिन्छ । तर एकदिन दिवस मनाएर मात्र मुलुकको मातृभाषाहरू संरक्षण हुनसक्दैन । त्यसका लागि सम्बन्धित समुदाय, तीनै तहका सरकारले दिर्घकालिन योजना बनाएर अगाडि बढ्न आवश्यक छ । यसो भयो भने मात्र मातृभाषा जोगाउन सकिन्छ ।

