Shittalpati
माथागढी गाउँ सरकारको बजेट ५० करोड ७१ लाख, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रीत

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले आगामी आर्थिक बर्षमा कोभिड–१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि ५० करोड ७१ लाख ६० हजार बराबरको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको छ । आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था र दीर्घकालीन रुपमा स्वास्थ्य,शिक्षा र कृषि क्षेत्रको भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिएको हो । यससँगै गाउँपालिकाले कोभिड–१९ कै कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमा समेत रोजगारी गुमाएका नागरिकलाई स्थानीयस्तरमै रोजगारी सिर्जनाका लागि व्यवसायिक कृषि, स्थानीयस्तरमा हुने भौतिक पूर्वाधारका काम र व्यावसायिक क्षेत्रमा अवसरका लागि कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई बजेट नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । नीति तथा कार्यक्रम गाउँपालिकाको एकीकृत विकास योजना कार्यान्वयनमा केन्द्रित रहेको उनकोे भनाइ छ ।

गाउँपालिकाले ठोस नीति, योजना, कार्यक्रम र मापदण्ड बनाई महामारीको संवेदनशिलताको आधारमा स्वास्थ्य तर्फ १ करोड ११ लाख ५० हजार रकम विनियोजन गरेको छ । जसमा विश्वव्यापी रुपमा असर पारेको कोभिड१९ को संक्रमणलाई स्थिर बनाउन, रोकथाम गर्न तथा नियन्त्रणमा सफलता हासिल गर्ने लक्ष्यका साथ क्वारेन्टाइन निर्माण, व्यवस्थापन गर्दै परीक्षण, आइसोलेसन र उपचारका लागि आवश्यक प्रबन्ध मिलाउने, परीक्षणको दर बढाउन लगायतका कोरोना व्यवस्थापनका लागि ५० लाख बजेट छुट्याइएको छ । गाउँपालिका भित्र कोरोना संक्रमणका कारण कुनै पनि नागरिकको दुर्भाग्यबस मृत्यु हुन गएमा काज किरिया र सहयोग बापत ५० हजार उपलब्ध गराउने, कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई समाजमा पुनःस्थापित गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने, स्वास्थ्यचौकीलाई न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तियुक्त बनाई भरपर्दो र विश्वसनीय सेवासहितको आकर्षक स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ । साथै गाउँ सरकारले व्यवसायिक कृषिमार्फत गाउँपालिकालाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन ८४ लाख बजेट विनियोजन गरेको छ । कोभिड– १९ ले कृषि क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सहकारी तथा सामुहिक खेतीलाई जोड दिई विभिन्न कृषि कार्यक्रम सञ्चालन गरिने लगायतका महत्वकांक्षी योजना गाउँपालिकाको रहेको छ ।

शिक्षातर्फ १ करोड २७ लाख १० हजार रकम विनियोजन भएको छ । जसमा ‘अध्यक्ष विद्यालय सुधार कार्यक्रम’ सञ्चालन गरी हरेक वडामा १/१ वटा प्रा.वि. स्तरका नमूना विद्यालय छनौट गरी आवश्यक पूर्वाधारहरुको व्यवस्थापन सहित सञ्चालनमा ल्याइने, प्राथमिक तहको गुणस्तर सुदृढिकरण गर्न र विद्यार्थीहरुको सिकाइ उपलब्धी मापन गर्न कक्षा ५ तथा कक्षा ८ को एसइई सरहको नै स्तरिकृत वार्षिक परीक्षा सञ्चालन गरिने, सबै उमेर समूहका बालवालिकाहरुलाई विद्यालय शिक्षामा समावेश गर्ने, आ.व.मा कक्षा ५ र ८ को पाठ्यक्रम र कक्षा २, ३, ४ र ७ को पाठ्यपुस्तक तयार गरिने गाउँपालिकाको निति तथा कार्यक्रममा समावेश गरिएको छ । कोरोना रोगको रोकथामसँगै त्यसबाट शिक्षा, कृषिमा पारेको प्रभावका विषयमा बजेट नीति तथा कार्यक्रम केन्द्रीत रहेको गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले बताईन् । उनले साँतौ गाउँसभाबाट नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गरिएकोमा जोड दिइन् । गाउँपालिकाले आर्थिक विकासतर्फ १ करोड १८ लाख,सामाजिक विकासतर्फ ३ करोड ६२ लाख ६० हजार,पूर्वाधार विकासतर्फ ८ करोड ५८ लाख, वन वातवरण तथा विपद् व्यवस्थापनमा ६३ लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update