Shittalpati
रामपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक

इमान सिं राना

पाल्पा (रामपुर) । पाल्पाको रामपुर नगरपालिकाले सातौं नगरसभा मार्फत कोभिड–१९ नियन्त्रण, कृषि, रोजगारी वृद्धि, गरिवि निवारण आयआर्जन र सार्वजनिक निर्माणलाई प्रथामिकता दिएर नीती तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरसभालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोभिड१९ को व्यापकताले सृजना हुन सक्ने परिस्थितिको आंकलन गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बताए । नगरपालिकाले क्वारेन्टाईन व्यवस्थापन, राहत वितरण, सचेतना, तथ्याङ्क सम्प्रेषण, उपचारमा खटिने स्वास्थ्यकर्मी, कर्मचारीलाई आवश्यक सुरक्षा सामाग्री व्यवस्थापन र प्रोत्साहनको व्यवस्था गरेको छ ।

स्वास्थ्यका नियमित कार्यक्रमलाई निरन्तरता दिदै जाने स्वस्थ्य चौकीको सुढृद गरी सबै वडाका स्वस्थ्य संस्थामा एक एक वटा एम्बुलेन्स व्यवस्था गरिदै लाने नीति लिएको छ । शिक्षा तर्फ लकडाउनको समयमा सरकारले तोकेको मापडण्ड अनुसार वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन गर्ने व्यवस्था मिलाउने, ‘विद्यालय उमेरका बालकालिकालाई विद्यालय ल्याउँ, सिकाउँ र लगाउँ’ को नीति लिएर प्राविधिक शिक्षामा जोड दिईने निती लिएको छ । शिक्षण संस्थाहरु भूगोल र न्यूनतम विद्यार्थी संख्याको आधारमा समायोजन गर्ने, शिक्षक दरबन्दी मिलान गर्ने, आधारभूत तहमा रामपुरको गौरव, संस्कृति, सभ्यता, मूल्य मान्यता र एकताको सम्वद्र्धन एवं नागरिक कर्तव्यको विषय समावेश गरी स्थानिय पाठ्यक्रम निर्माण गर्ने नीति लिएको छ ।

थापाले एक विद्यालय एक पुस्तकालय स्थापनाको नीति अवलम्बन गरिने बताउँदै यसै आर्थिक वर्षमा नगरपालिकामा शहीद सूर्य घिमिरे पुस्तकालय तथा शहीद सुर्य घिमिरे कोष र टंकनाथ स्मृति भवन स्तरउन्नति गर्ने जानकारी दिए । उनलेले कषिमा आत्मनिर्भर बनाई बजारिकरणको व्यवस्था गर्ने, वैदेशिक रोजगारीलाई कम गर्न कृषि, पशुपालन र उद्योग व्यवसायको व्यवसायिकरणका लागि कार्यक्रम सञ्चालन गर्ने, विदेश बाट फर्किएका युवाहरुलाई कृषि क्षेत्र तथ उत्पादन मूलक क्षेत्रमा काम लगाउन प्रोत्साहनको नीति लिएको बताए । युवा स्वरोजगारको कार्यक्रमलाई निरन्तरता दिने, कोभिडका कारण प्रभावित बनेको आर्थिक पुर्नउत्थान गर्न रोजगार र स्वरोजगारका लागि उत्पादनमूलक तालिममा जोड दिने कार्यक्रम गर्ने जनाएको छ ।

पर्यटकिय क्षेत्रमा पूर्वाधार निर्माण तथा प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । त्यस्तै पूर्वाधार विकासको लागि नगरपालिकाले देखिने गरी काम गर्न वडामा एक गौरवको योजना निर्माण गर्ने र नगरस्तरिय वडा गौरव आयोजनाको लागि कम्तीमा १२ लाख बन्दा घटीको रकम विनियोजन नगर्ने निती लिएको छ । अन्य छुटेका योजनाको लागि जनताको अपेक्षा मेयरको शुभेच्छा कार्यक्रमलाई निरन्तारता दिएको छ । नगर प्रमुख थापाले यस वर्ष महामारीका कारणले प्रभावित बनेको भन्दै आम्दानीको लागि कर वृद्धि नगरी दायरा बढाउने नीति अवलम्बन गरेको बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम अचार्यले चालु आर्थिक वर्षमा नगरले प्राप्त गरेका उपलब्धी र सम्पन्न भएका योजनाको बारेमा जानकारी दिएका थिए । उनले भौतिक पूर्वाधार तर्फ अधिकांश योजन निर्माणको अन्तिम चरणमा पुगेको बताए । निती तथा कार्यक्रमको लागि बजेट आगामी नगरसभामा हुनेछ । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यको स्वागत बाट सुरु भएको नगरसभाको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update