पाल्पा,२०११ सालमा स्थापना भएको तानसेनको मिसन अस्पतालले २६ औं वार्षिक साधारण सभा मनाएको छ । अस्पतालले एक औपचारिक कार्यक्रमकाबिच बुधबार साधारण सभा मनाएको हो ।
सभाको लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री विरबहादुर रानाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका रानाले मिसन अस्पतालले गुणस्तरीय सेवा प्रदान गरी पश्चिम क्षेत्रमै स्वस्थ्य क्षेत्रमा अग्रणी रहेको बताए । उनले अस्पतालले दुखी, गरिब , असहाय विरामीहरुको उपचारमा गर्दै आएको सहयोग प्रशंसनिय रहेको बताए । सांसद रानाले समयको माग अनुसार अस्पतालको सेवालाई समेत थप विस्तार गर्दै लैजान आवश्यक रहेको उल्लेख गरे । उनले मिसन अस्पताल पाल्पाकै सम्पति रहेको बताउदै यसलाई बचाई राख्न सरकारका जनप्रतिनिधी, राजनैतिक दल, नागरिक समाज सबैको सहयोग आवश्यक रहेको औल्याए । कार्यक्रममा युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्य, तानसेन नगरपालिकका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी, नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती, नेपाल पत्रकार महासघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेना, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतले अस्पतालले दिने सेवा प्रभावकारी रहेको बताएका थिए ।
कार्यक्रममा अस्पतालका निर्देशक डा. रचेल कारकले वार्षिक प्रतिवेदन पेश गर्दै यस वर्षदेखि सिटी स्क्यान सेवा सहित विशेषज्ञ सेवा विस्तार गरिएको बताइन् । उनले २०० वेडसहितको अस्पतालमा पाल्पा लगायत ११ वटा जिल्लााका साथै भारतबाट बिरामीहरु उपचारका लागि आउने गरेको बताइन । निर्देशक कारखले अस्पतालमा, हाडजोर्नी, जलेका र निमोनिया विरामी धेरै आएको उल्लेख गरिन । उनले भनिन् “हामीले यस वर्ष ७२ हजार १ सय ९६ विरामी उपचार गर्न आएकोमा १ हजार ८ सय ७५ जनालाई २ करोड ४३ लाख ६४ हजार ८ सय ६१ रुपैयाँ बराबरको निःशुल्क उपचार गरेका छौं । ” उनले हाल अस्पतालमा ३ सय ८० चिकित्सक, कर्मचारी कार्यरत रहेको बताइन् । अस्पतालका प्रशासकिय अधिकृत जीवन भट्टराइले यस आव २०८१÷८२ मा ४७ करोड ९८ लाख २२ हजार ७ सय २४ आम्दानी गर्न सफल भएको र ५० करोड १० लाख ८८ हजार ९ सय ९९ खर्च भएको बताए । उनका अनुसार २ करोड १२ लाख ६ हजार २ सय ७४ भने घाटा रहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षता, अस्पताल सुपरिडेण्डेन डा. तुल वहादुर पुनको स्वागत,अस्पतालका व्यवस्थापक गणेश घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।


