Shittalpati
 रामपुर नगर सभाको १८ औं अधिवेशन, बजेट रकमान्तर, दुई विधेयक पारित      

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाको १८ औं नगरसभाले बजेट रकमान्तरसहित दुई विधेयक  पारित गरेको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका दुई विधेयक  सर्वसहमत रुपमा पारित गरेको हो । 

नगरसभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ र रामपुर नगरपालिका पर्यटन विकास विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । सभामा विद्येयक समितिका संयोजक मिनबहादुर सिंजालीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ र विद्येयक सदस्य विष्णु माया गैरे रामपुर नगरपालिका पर्यटन विकास विधेयक बहुमतले पारित गरियोस् भनि प्रस्तुत गरेका थिए । सभाले वडा तथा नगरस्तरीय ८० वटा योजना तथा कार्यक्रमको बजेट रकमान्तर तथा शिर्षकान्तर गरेको छ । उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गरेको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । नगर उपप्रमुख थापाले नगरको चालु आर्थिक वर्षको कुल बजेट ८१ करोड १३ लाख ६६ हजार ६२१ रुपैयाँ मध्ये अधिवेशनले वडा तथा नगर स्तरीय ८० वटा योजना तथा कार्यक्रमको दुई करोड पाँच लाख ११ हजार शीर्षकान्तर तथा रकमान्तर गरिएको जानकारी दिइन् । नगर सभा सदस्यहरुले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले विकाससँगै नगरको पहिचानका लागि नगरपालिकाले गरेका कार्य गौरवको रुपमा रहेको बताए । नगरपालिकाले सुरुवात गरेको असल अभ्यास संघ र प्रदेशले पनि सुरुवात गर्नु खुशीको कुरा भएको उनले उल्लेख गरे । नगरपालिकाले खररहितको घर, युवा स्वरोजगार, ढलरहित शहर, कालीगण्डकी पैदल मार्ग निर्माण, नगर गौशाला निर्माण, उज्यलो शहर घोषणा लगाएतका महत्वपूर्ण कार्य गर्दै आएको  नगर प्रमुख  थापाले बताए । उनले बालबालिका र जेष्ठ नागरिकको सुरक्षाका लागि रामपुर नगरपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्दैै आएको बताए । 

जनताको चाहाना अनुसार स्रोत साधनले भ्याएसम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको उनको भनाई छ  । जनप्रतिनिधि र कर्मचारीहरु जनतालाई सहज रुपमा सहज रुपमा सेवा प्रवाह गर्न कसरी सकिन्छ भन्ने ध्येयका साथ लागि रहेको थापाले बताए । नगरपालिकाले संघ र प्रदेश संग समन्वय गर्दै लागि रहेको उनले बताए । नगर प्रमुख थापाले हल्लाको पछि नभै सेवामा प्रतिवद्ध भएर लाग्न अनुरोध सबैलाई आग्रह गरे । रामपुर नगरपालिका १ का वडा अध्यक्ष एवं प्रवक्ता कपिल बहादुर खाँणले सभामा धन्यवाद ज्ञापन गर्दै  देश वर्तमान अवस्था सम्म ल्याउनका लागि दलहरुको भुमिका महत्वपूर्ण रहेको बताए । उनले जनप्रतिनिधिहरु स्थानीय तहलाई प्राप्त २२ वटा एकल अधिकार र १५ वटा साझा अधिकार कार्यान्वयनमा कति जिम्मेवार भएर लाग्यौं त्यो महत्वपूर्ण हुने बताए । नगरबासीले के अनुभूति गरे भन्ने विषयमा समिक्षा गरी अघि बढ्नु आवश्यक रहेको उनको भनाई छ । कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताइन् । रामपुर नगरपालिका(३ का वडा अध्यक्ष दामोदर पाठक विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नु पर्ने बताए । शुन्य समयमा आफ्नो धारणा राख्दै वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले नगरपालिकाले सञ्चालन गरेका राम्रो योजनालाई निरन्तरता दिदै बाँकी कार्यलाई पनि समेटेर अघि बढ्नु पर्ने उल्लेख गरे । उनले नगरपालिकाले विवाह पञ्चमीको अवसरमा आयोजना गरेको रामसीता विवाह महोत्सव, जेष्ठ नागरिक स्कुल सञ्चालन लगाएतका कार्य निकै गर्वको विषय रहेको बताए ।

थापाले खानेपानीको मुहान एकितृत गर्ने, वडा पहुँच मार्ग तथा आमा भवन निर्माणको विषयमा ध्यानाकर्षण गराए । शुन्य समयमा रामपुर ४ का वडा सदस्य मोहम्मद अजिम शेख, वडा नं. ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले सडक तथा विकासका पूर्वाधारको बारेमा आवाज उठाएका थिए । विशेष समयमा रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले फोहोर व्यवस्थापनको विषयमा अब नगरपालिकाले विशेष ध्यान दिनु आवश्यक रहेको बताए । साथै वडा नं. ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले बुल्टारलाई नगरको क्रिकेट मैदानको रुपमा विकास गर्न आग्रह गरेका थिए । रामपुर–४ का वडा सदस्य मोहन सिं रानाले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुको लागि राजस्वमा सहुलियत प्रदान गर्नु पर्ने बताएका थिए । सभामा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको आह्वान पत्र बारे जानकारी गराएका थिए । सभाको सहजिकरण योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए  । 

 
 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update