पाल्पा, जिल्लाको तानसेनमा सञ्चालित रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औं बार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारणसभा मनाएको हो ।
सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष भुगोल प्रसाद वैजु श्रेष्ठले सहकारीले वित्तिय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले १ करोड २२ लाख ७८ हजार शेयर पुजी रहेको रानीमहल सहकारीले गत आर्थिक बर्ष ९ करोड ७ लाख ५६ हजार बचत संकलन गरेको र ८ करोड ९९ हजार बचत फिर्ता गरेको बताए । उनले भने “ हामीे २ करोड ५२ लाख ९८ हजार लगानी गरिएको र ३ करोड १ लाख ऋण असुली गरेका छौं ।” संस्थाले गत बर्ष मुनाफा बढाएको थियो । गत बर्ष ६ लाख ७५ हजार मुनाफा गरेको र आ.व. २०८०/०८१ मा १ लाख ६४ हजार, आ.व.२०७९/०८० मा १ लाख मात्र मुनाफा गरेको अध्यक्ष बैजुले वार्षिक प्रतिवेदन पेश गर्दै साधारण सदस्यहरुलाई जानकारी गराए ।
/ साधारणसभामा कोषाध्यक्ष किशोर दर्शन बज्राचार्यले गत बर्षको १२ करोड बराबरको आय व्यय र चालु आर्थिक बर्षको अनुमानित ११ करोड ८० लाख बराबरको आय व्यय प्रस्तुत गरे । संस्थाले नियमित बचतमा ६ दशमलव ५ प्रतिशत र मुद्दती बचतमा ८ प्रतिशत व्याज प्रदान गर्दै आएको, व्यक्तिगत कर्जामा १२ प्रतिशत, जग्गा धितो कर्जामा १३ प्रतिशत र हायर पर्चेज कर्जामा १२ दशमलव ५ प्रतिशत व्याज लिने गरेको कोषाध्यक्ष बज्राचार्यले बताए । साधारणसभामा लेखा समितिका संयोजक रविमोहन श्रेष्ठले सहकारीको लेखा प्रणाली, खर्च आम्दानी तथा बचत तथा व्याजको अवस्था, सस्थाको आगामी रणनीतिको बारेमा जानकारी गराए । साधारणसभामा संस्थाले शैक्षिक बचतकर्ता, बाल बचतकर्ता, जेष्ठ नागरिक बचतकर्ता, एकल महिला बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीहरुलाई पुरस्कार सहित सम्मान समेत गरेको छ ।
संस्थाले आफ्ना एक बर्ष अवधि पुगेर नियमित बचत गर्दै आएका शेयरधनी सुत्केरी भएमा सुत्केरी स्याहार खर्च ६ हजार, मुटुरोगी वा जुनसुकै जटिल प्रकाका विरामी शेयरधनीलाई उपचार खर्च वापत ८ हजार, मृगौला तथा पित्त थैली शल्यक्रियाको लागि ६ हजार, दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार, अन्तिम दाह संस्कारको लागि १० हजार, जेष्ठ नागरिक र एक महिलाहरुको लागि मासिक एक सय प्रदान गर्दै आएको सस्थाका सह–सचिव शैलेन्द्र भट्टराईले जानकारी दिए ।
सस्थाले सामुहिक व्यापार व्यबसाय दुध डेरी, मासु पसल, खाद्यान्न, रेष्टुरेण्ट, कुटानी तथा पिसानी मेशिनको लागि कम्तीमा १० जना शेयर सदस्यहरुलाई सेवा शुल्कमा पूर्ण छुट र व्याजदरमा छुट दिने निर्णय गरेको छ । संस्थाले पुस महिनादेखी बचत तथा ऋणमा कम्तीमा ५ प्रतिशत शेयर किन्नुपर्ने बाध्यकारी व्यवस्था लागु गर्ने जनाएको छ । संस्थाले शेयर सदस्यहरुलाई घरायसी सरसमान किस्तावन्दीमा दिने, शेयर सदस्यहरुको पानी तथा विद्युतको महशुल तिरिदिने, शेयर सदस्य विरामी हुँदा रगत आवश्यकता परेमा त्यसको व्यवस्था गरिदिने, शेयर सदस्यको मृत्यु भएमा शव घाटसम्म लैजानको लागि सहुलियत दरमा गाडीको व्यबस्था गरिदिने संस्थाका अध्यक्ष श्रेष्ठले बताए । संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष राजेश शाक्यको स्वागत र सह–सचिव शैलेन्द्र भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।


