Shittalpati
संसद् पुनःस्थापनाको माग राख्दै एमाले जनप्रदर्शनमा

पाल्पा,  नेकपा एमालेले संसद पुनःस्थापनाको माग गर्दै  देशभर भेला र प्रदर्शन गर्दै आएको छ । वर्तमान सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै एमालेले सरकार विरुद्ध विरोध प्रदर्शन थालेको हो ।

 देशभरका पालिकाहरुमा एमाले कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । पाल्पामा पनि एमालेले पालिकाहरुमा विरोध प्रदर्शन गरिरहेको छ । एमालेले केन्द्रीय सर्कुलर अनुसार संसद पुनस्र्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्दै आएको हो । २४ गते सबै पालिकाहरुमा विरोध कार्यक्रम गरेको उसले कार्तिक २९ गते शनिवार तानसेनमा वृहत जनप्रदर्शन गर्न लागेको छ । एमालेले र्‍याली सहितको जनप्रदर्शनको तयारी पुरा भएको जनाएको छ । नेकपा एमाले प्रचार विभागले बिहीबार तानसेनमा पत्रकार भेटघाट गरी जनप्रदर्शनको तयारी पुरा भएको जनाएको हो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि गठन भएको वर्तमान शुसिला कार्कीको सरकार असंवैधानिक भएकाले देशलाई संवैधानिक बाटोमा फर्काउनको लागि संसद पुर्नस्थापना सहितको माग राखी जनप्रदर्शन गर्न लागिएको पाटी पोलिटिव्युरो सदस्य ठाकुर गैरेले बताए । संसद पुर्नस्थापन मार्फत जेनजी मुद्दाहरुलाई सम्बोधन गर्ने गरी संविधान शंसोधन, जेनजीको सहभागीतामा सर्वदलिय सरकार,  सर्वदलिय सरकारमार्फत तत्काल निर्वाचन गरी नयाँ जनप्रतिनिधीहरुलाई सत्ता हस्तान्तरण एमालेको बटम लाईन भएकाले सो मुद्दा स्थापित गर्न एमालेले देशभरी कार्तिक २९ गते जनप्रदर्शन गर्न लागेको गैरेले बताए । भदौ २३ गते र २४ गतेको आन्दोलन भएका गतिविधीहरुलाई छुट्टाछुट्टै रुपमा छानविन गरी, अपराधिक गतिविधीमा संलग्नहरुलाई कानुनी कारवाही गर्नुपर्ने एमालेको माग रहेको एमाले नेता गैरेले बताए ।

       वर्तमान सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेपनि वर्तमान अवस्थामा निर्वाचन हुने वातावरण नरहेको, सरकारले निर्वाचनमा भाग लिने दलहरुसँग नै वार्ता कुराकानी गर्न नखोजेको, शान्ती सुरक्षा दिनहँु विग्रदै गएको, जेलमा रहेका आधा भन्दा बढी कैदीबन्दी फरार रहेको, प्रहरीका लुटिएका हतियार फिर्ता नभएको, प्रहरीको मनोबल गिरेको अवस्थामा स्वच्छ, निष्पक्ष र भयरहित अवस्थामा निर्वाचनको वातावरण नभएको एमाले पालिटिव्युरो सदस्य गैरेले जोड दिए ।

उनले भने “अहिलेको सरकार निर्वाचन गराउने पक्षमा छैन् । दलका नेतालाई कारबाही गर्ने ध्याउन्नमा मात्र अहिलेको सरकार छ । दलका नेताहरूलाई निर्वाचनमा निषेध गर्न खोजिरहेको छ । यस्तो अवस्थामा निर्वाचन हुन सक्दैन की भन्ने मलाई  लागेको छ ।”   आन्दोलनकर्ताले नै आफूले बनाएको सरकारको राजीनामा मागिरहेको उनको भनाई छ । नेता गैरेले भने “अहिलेको सरकार एकदिन पनि सरकारमा बस्ने नैतिक आधार छैन् ।” सरकारले राजीनामा दिनुपर्ने उनको भनाई छ ।पत्रकार सम्मेलनमा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगरले वडा, पालिका हुँदै तानसेनमा जिल्ला स्तरीयजनसभा गर्न लागिएको जानकारी दिए । शनिबार दिउँसो १ बजे तानसेनको टुँडिखेलबाट विरोध  र्‍याली शुरु भई जनसभामा परिणत हुने एमाले जिल्ला अध्यक्ष घर्तीले बताए । एमाले पाल्पाका प्रचार विभाग प्रमुख दिपक विश्वकर्माको सभापतित्वमा भएको पत्रकार सम्मेलन प्रचार विभाग उपाध्यक्ष मिलन विश्वकर्माको स्वागत र सचिव रेखीराम रानाको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update