पाल्पा, नेकपा एमाले पाल्पाले जनप्रदर्शन गर्ने भएको छ । संविधानको रक्षार्थ जिल्लाभर छ्ट्टाछुट्टै भेला गरी उसले जनप्रदर्शन गर्ने जनाएको । शुक्रबार तानसेनमा बसेको पार्टी सचिवालय बैठकले ८१ वडा, १० पालिका र जिल्ला सदरमुकाम तानसेनमा छुट्टाछुट्टै जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।
वडा र पालिका कमिटीले भेला तथा प्रदर्शन गर्नेछन् । जिल्ला पार्टीले भने जनप्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए । शनिबार (आज) वडा–वडामा भेला तथा जनसभा हुँदै छ भने २४ गते सबै पालिकामा जनसभा तथा भेला र २९ गते तानसेनमा बृहत जनप्रदर्शन हुने उनले बताए । जनसभामा करिब १० हजार नेता तथा कार्यकर्ता उपस्थित हुने गरी तयारी थालिएको अध्यक्ष मगरले बताए । उनका अनुसार शान्तिपूर्ण रुपमा जनप्रदर्शन सम्पन्न हुनेछ ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले संविधानको रक्षार्थ जनप्रदर्शन गर्न लागिएको बताए । यसअघि पालिका कमिटी र जनसंगठनले दिएका सुझाव केन्द्रीय कमिटी बैठकमा जानकारी गराएको भन्दै उनले पार्टीले स्थानीय स्तरबाट नै प्राप्त भएका सुझावका आधारमा जनताको पक्षमा काम गर्ने योजना बनाइरहेको बताए ।
नेता गैरेले वडा, पालिका र जिल्लामा गरिने बृहत भेला तथा जनप्रदर्शनलाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले जेनजी आन्दोलनलाई समर्थन गर्दै भने ‘२३ गतेसम्म उनीहरूले गरेको आन्दोलन ठीक थियो । २४ गतेको आन्दोलन भने गलत मनसायले भएको छ । ठूलो मात्रामा जनधनको क्षति भएको छ । यो दुखद् हो । यसको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।’ प्रतिनिधिसभा विघटन गर्नु पनि गलत भएको उनले जिकिर गरे । अहिलेको सरकार अवैधानिक रुपमा बनेको पनि उनले आरोप लगाए । प्रधानमन्त्री सुशीला कार्कीलाई वैधानिक दिन प्रतिनिधिसभा पुनस्र्थापना गर्नुको विकल्प नभएको नेता गैरेको जिकिर छ । उनले भने ‘पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न मिल्दैन् । जेनजीको जायज माग पूरा गर्न र संविधान संशोधन गर्न पनि संसद ब्युताउँनु पर्ने छ । ’ कुनै पनि पूर्वप्रधानमन्त्रीले अब फेरि प्रधानमन्त्रीको दाबी नगर्ने शर्तमा प्रतिनिधिसभा ब्युँझाउनु एमाले पार्टी तयार रहेको उनले स्पष्ट पारे ।
आगामी फागुन २१ गते निर्वाचन हुनेमा उनले आशंका व्यक्त गरे । अहिलेको सरकार निर्वाचन गराउने पक्षमा छैन् । फागुन २१ गते हुने निर्वाचन निष्पक्ष र सुरक्षाको ग्यारेन्टी भएमा एमाले सहभागी हुने गैरेले बताए । दलका नेतालाई कारबाही गर्ने ध्याउन्नमा मात्र अहिलेको सरकार छ । दलका नेताहरूलाई निर्वाचनमा निषेध गर्न खोजिरहेको छ । यस्तो अवस्थामा निर्वाचन हुन सक्दैन की भन्ने आफूलाई लागेको उनले बताए । ‘आन्दोलनकर्ताले नै आफूले बनाएको सरकारको राजीनामा मागिरहएका छन्’उनले भने ‘अहिलेको सरकार एकदिन पनि सरकारमा बस्ने नैतिक आधार छैन् ।’ सरकारले राजीनामा दिनुपर्ने उनको भनाई छ । बैठकले किसानको धानबाली खेतीमा भएको नोक्सानबारे सरकारको ध्यानाकर्षण गराएको एमाले जिल्ला सचिव रामजी पोखरेलले बताए । बैठकमा उपसचिव दीपक विश्वकर्माले एमाले केन्द्रीय सचिवालयले निर्णय गरेर जारी गरेको अन्तर पार्टी निर्देशनबारे जानकारी गराएका थिए । जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगरको अध्यक्षता, उपाध्यक्ष विमल काफ्लेले स्वागत, सचिव पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।– पत्रकार मिलन विश्वकर्माबाट


