Shittalpati
पाल्पाका ठाउँ–ठाउँमा पहिरो, घर भत्कियो, भैंसी पुरियो

रामचन्द्र रायमाझी
पाल्पा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकांश ग्रामीण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैंसीको पाडी पुरिएर मरेको छ । निस्दी गाउँपालिका ४ मा घर भत्किएको हो । निस्दी गाउँपालिका ४ भिरपानी बस्ने निरबहादुर परियारको ढुङ्गा माटोले बनेको जस्ता र खरको छानो भएको २ तले कच्चि घर भत्किएको छ । घर भत्किदा मानविय र चौपायाको भने कुनै पनि क्षती नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर भने पूर्णरुपमा क्षती हुँदा ३ लाख ५० बजार बराबरको क्षती भएको छ ।

यस्तै रिब्दीकोट गाउँपालिका ४ हटियामा पहिरोको कारण भैसीको पाडीको मरेको छ । हुपबहादुर तङ्नामी मगरको घर माथिबाट खसेको पहिरोले गोठमा भएको पाडीलाई पुर्दा मरेको हो । पहिरोले ३ वर्षको पाडीको मृत्यु हुनुको साथै गोठ पूर्णरुपमा क्षतविच्छे हुँदा एक लाख बराबरको क्षती भएको छ । शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण पूर्वखोला गाउँपालिका १ चापगैरा स्थित रामपुर–तानसेन पक्की सडक खण्डमा पहिरो खसेको छ । माथिबाट खसेको पहिरोले केही समय बाटो अवरुद्ध बनेको थियो । अवरुद्ध बनेको बाटो स्थानीय र प्रहरीको सहयोगमा सुचारु भएको छ । माथागढी गाउँपालिका १ अगाहखोलास्थित सिद्धार्थ राजमार्गमा पनि पहिरो गएको छ । माथिबाट खसेको पहिरोका कारण बाटो अवरुद्ध बनेको छ । अहिले एक तर्फीमात्र बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै तिनाउ गाउँपालिका ५ गौडेपुल स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरो गएको छ । माथिबाट खसेको पहिरोले केही समय पूर्ण रुपमा सडक अवरुद्ध भएपनि स्थानीयको पहलमा एकतर्फी सडक सञ्चालनमा आएको छ । रिब्दीकोट गाउँपालिका ३ सिरुपाते स्थित तानसेन–रिडी पक्की सडक खण्डमा माथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । प्रहरी र स्थानीयको पहलमा सडक खुलाउने काम भएको छ । 

त्यस्तै रैनादेवी छहरा गाउँपालिका ५ भालुखान स्थित हार्थोक–तीनगिरे पक्की सडक खण्डमा पनि माथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण किसानले लगाएको मकैवालीमा समेत क्षति पुगेको छ । क्षतिको विवरण भने आउन बाँकी छ । वर्षाले कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिन अघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब ६५ लाख बराबरको क्षति पुगेको हो । शनिबार ढलान गर्ने तयारी गरी कामलाई तीव्रता दिइरहेका बेला बाढीले सटरिङ नै बगाएपछि ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update