Shittalpati
नारायण युवा क्लवद्वारा कोरोना सचेतना कार्यक्रम

पाल्पा । जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नारायण युवा क्लवले कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । कोरोना भाईरसका कारण पाल्पामा पनि जोखिम बढ्दै गएकाले स्वास्थ्य सचेतना एवं सतर्कताका लागि क्लवले तानसेनमा सचेतना कार्यक्रम गरेको हो ।

तानसेन नगरपालिका २ मा रहेको क्लवले शनिबार विशेषज्ञ डाक्टर र सामाजिक सहजकर्ता सहितको टोली मार्फत वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेवक, टोलविकास संस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधि, क्लवका सदस्यहरुलाई कोरोना सम्बन्धी सचेतना कार्यक्रम गरेको क्लवका उपाध्यक्ष प्रविन शाक्यले बताए । सचेतना कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका डा.उदिपमान महर्जनले कोरोना भाईरस परिभाषा, लक्षणहरु, सर्ने तरिका, सतर्कताका लागि उपायहरु लगायतका विषयमा जानकारी दिएका थिए । उनले कोरोना भाइरस नयाँ र अन्य भन्दा शक्तिशाली भाइरस भएकाले राज्यले सतर्कता र आम नागरिकले सचेतना अपनाउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका डा.नर्मता श्रेष्ठले कोरोनाले समाजमा पारेको प्रभाव, जिल्ला अस्पतालका डा. एलिना शर्माले जिल्ला अस्पतालको कोरोना उपचार, डा.रुपेश शर्माले कोरोनाबाट बच्ने उपाय, सहजकर्ता नेपाल रेडक्रसका पाल्पाका कार्यक्रम अधिकृत विनोद भारतीले मनोसामाजिक प्राथमिक उपचार, सेभद चिल्ड्रेनका सुवास श्रेष्ठले कोरोनाको वर्तमान अवस्था लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको वडा अध्यक्ष बरुण रेग्मीले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष रेग्मीले मनोवल उच्च बनाएर अगाडि बढ्न आग्रह गरे । क्लवका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले कोरोना भाइरसको परीक्षणको व्यवस्था व्यापक नभएकाले उच्च सर्तकता अपनाई सचेतनाका कार्यक्रम गर्नु आवाश्यक रहेको बताए । किशोर दर्शन बज्राचार्यको अध्यक्षता र क्लवका सचिव विनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update