Shittalpati
प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु

रामचन्द्र रायमाझी

पाल्पा, प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । पाल्पा, गुल्मी, रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको हो । गुल्मी रुरु क्षेत्र गाउँपालिका १ साखरमा एक पुरुषको शव फेला परेको छ । नामथर वतन नखुलेको अन्दाजी १४/१५ बर्षको पुरुषको शब रिडी खोलाले बगाई ल्याई ढुङ्गाको चेपमा अड्किएको अवस्थामा स्थानीयले शव फेला पारेका हुन् । शवको हालसम्म पहिचान खुल्न नसकेको र शवलाई प्राथमिक स्वास्थ्य केन्द्र रिडिको मुर्दा घरमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा बाथरुमबाट लडेर एक पुरुषको मृत्यु भएको छ । भार्सेका ४० वर्षीय दान बहादुर श्रीष आफ्नै घरको बाथरुममा लड्न गई घाईते भई उपचारको लागि पाल्पा ल्याउदै गर्दा मृत्यु भएको हो । उनको श्रीमतीले बिच बाटोमा मृत्यु भएको शंका मानी पुन फर्काएर प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा पु¥याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।

पाल्पाको रामपुरमा मृत अवस्थामा शव फेला परेको छ । रामपुर नगरपालिका ६ तातोपानी घाट स्थित कालीगण्डकी नदीको किनारमा पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । अन्दाजी १७/१८ वर्षको जस्तो देखिने पुरुषको पेटमा चिरेर टांका लगाएको जस्तो घाउ समेत रहेको र शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका ८ बसडिलवामा करेन्ट लागेर रुपन्देही सिद्धार्थ नगरपालिका १२ शान्तीनगरका २१ वर्षका आयुष पुनको मृत्यु भएको हो । साथी जोहान गुरुङको घरमा बस्दै आएका उनले मोटर चलाई धारा खोल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाइते उनको उपचारका क्रममा सिटी हस्पिटल भैरहवा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update