Shittalpati
रामपुरमा एकै दिन दुई झोलुङ्गे पुल शिलन्यास

इमान सिं राना
पाल्पा (रामपुर) । जिल्लाको रामपुरमा एकै दिन दुई वटा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । रामपुर नगरपालिका वडा न. ६ को प्याकलुक र वडा नं. ८ को सेरा जोड्ने प्याकलुक घाट झोलुङ्गे पुल र रामपुर नगरपालिका वडा नं. ४ को खोप्टार काँसजरी जोड्ने पाटी खोला झोलुङ्गे पुल शिलन्यास गरिएको हो ।

पुलको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वैदिक विधि पूर्वक शिलन्यास गरेका हुन । पुलको शिलन्यास गर्दै थापाले पछिल्लो समय पक्की पुलको निर्माण बढ्दै गए पनि झोलुङ्गे पुलको महत्व पनि कायम नै रहेको बताए । थापाले दुई स्थान बिचको सम्बन्ध कायम गर्न तथा कृषि र पर्यटनको विकासका लागि झोलुङ्गे पुलले ठूलो सहयोग गर्ने बताए । थापाले निर्वाचनको समयमा दिएको वचन तीन तहको सरकार र सरोकारवालाहरुको समन्वयमा यथार्थमा परिणत भएको बताए । प्याकलुक घाट झोलुङ्गे पुल शिलन्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा तानसेन नगर कमिटि अध्यक्ष रामप्रसाद पोखरेल, रामपुर नगर कमिटि अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिका वडा नं. ८ का वडा सदस्य मोहन प्रसाद श्रेष्ठ, समाजसेवी देवराज ढकालले बोल्दै पुल निर्माणले सेरा र प्याकलुक क्षेत्रका स्थानीयहरुलाई खेती गर्न घुमेर जानु पर्ने समस्या समाधान हुने बताउँदै स्तरीय निर्माणमा ध्यान दिन आग्रह गरेका थिए । सामाजिक तथा प्राविधिक सहयोगी संस्था इन्द्रेणी समाज केन्द्रका इन्जिनियर यम बहादुर रानाले पुलको संरचना, लागतका बारेमा जानकारी दिए ।

प्याकलुक घाट झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुमार अर्यालले समितिले गुणस्तरलाई विशेष ध्यान दिएर समयमा काम सक्ने गरी निर्माणलाई अघि बढाउने बताए । अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष कृष्ण ढुङ्गानाको स्वागत र माधव पंगेनीको सञ्चालनमा भएको थियो । ९४ मिटर लामो प्याकलुक घाट झोलुङ्गे पुल रामपुर नगरपालिकाको २ लाख ७७ हजार ९ सय ८६ रुपैयाँ २० पैसा, स्थानीयको श्रमदान ९२ हजार ६ सय ६२ रुपैयाँ, क्षेत्रगत कार्यक्रमको नगद ३७ लाख ९१ हजार ९३ रुपैयाँ ९२ पैसा सहयोग र जिन्सी ४ लाख ७१ हजार ६ सय ६१ रुपैयाँ ८ पैसा गरी ४६ लाख ३३ हजार ४ सय ३ रुपैयाँ २७ पैसाको लागतमा निर्माण हुन लागेको हो । त्यस्तै खोप्टार र काँसजरी जोड्ने पाटी खोला झोलुङ्गे पुल ३२ लाख २५ हजारको लागतमा निर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिए । पुलको कुल लम्बाई ६२ मिटर रहेकोछ । दुवै पुल निर्माणमा सामाजिक तथा प्राविधिक सहयोग इन्द्रेणी समाज केन्द्र नेपालले गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update