Shittalpati
क्वारेन्टाइनमै किरिया शुरु !

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसेका हुन् ।

उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टाइनमै किरिया शुरु गरेको हो । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्दार गरी उनी दोगडाकेदार पुगेका थिए । क्वारेन्टाइनमा किरिया बस्न बाध्य भएको उनले गुनासो गरे । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए । भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टाइनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । लीलाधरको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टाइनमा बसेका थिए । -रासस

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update