पाल्पा,आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध) आइतबार सकिएको छ । अपरÞनकालमा दिव·त पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी यस वर्षको सोह्र श्राद्ध सकिएको हो ।
सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । पितृपक्षको अन्तिम दिन आइतबार आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए अन्तिम दिन गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर यस दिन पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चा· निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउन्छन् । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने बताइन्छ ।
पितृपक्षका बेलामा पितृलोकबाट दिव·त पितृहरू पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रूपमा दिइएका विकल्पअनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला मालिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथि सोह्र श्राद्धमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपालीजस्ता श्राद्धहरू प्रचलित छन् । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको छ । सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ ।


