पाल्पा,जिल्लाको तानसेनमा अपाङ्गता भएका स्रष्टाहरुसँगै सिर्जना वाचन कार्यक्रम गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनको काजीपौवास्थित सर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रमा सिर्जना कार्यक्रम गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको जीवनभोगाइ, पीडा, संघर्ष तथा आत्मबल झल्काउने कविता, गीत, गजल र मुक्तक प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार राजेन्द्र गोपाल सिंहले अपाङ्गता भएका भाइबहिनीहरूलाई साहित्यकार पारिजात, झमक घिमिरे तथा विश्वप्रसिद्ध व्यक्तित्व हेलन केलरजस्तै संघर्षशील, सिर्जनशील र सफल बन्न शुभकामना व्यक्त गरे ।
उनले साहित्य र सिर्जनाले व्यक्तिमा आत्मविश्वास बढाउने तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका स्रष्टाहरू तिर्थप्रसाद अधिकारीले गजल, शिवबहादुर पौडेलले मुक्तक, इन्द्र थापा मगरले गीत तथा अभिनय, निशा खड्का, निर्मला लम्साल, सुशीला चौधरी, बसन्ती घिमिरे र लेखनाथ ढकालले गीत तथा एरिका गुरुङले कविता प्रस्तुत गरेका थिए ।
त्यसैगरी अपाङ्ग विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अस्तित्व रेग्मीले गितारसहित गीत, गम्भीरजंग रायमाझी, शारदा ढकाल, इन्दिरा ज्ञवाली, पुरुषोत्तम अर्याल र रामप्रसाद अर्यालले कविता, रोहितप्रसाद ज्ञवालीले ‘गुलेली’, सीताराम घिमिरेले मुक्तक तथा पुष्कर अथक रेग्मीले शीत र गीत वाचन गरेका थिए । पाल्पा साहित्य समाजले समयानुकूल विविध साहित्यिक कार्यक्रम सञ्चालन गर्दै साहित्यिक चेतना विस्तार र स्रष्टाहरूको प्रोत्साहनमा योगदान पुर्याउँदै आएको जनाएको छ । समाजका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, कोषाध्यक्ष पुरुषोत्तम अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।


