Shittalpati
 महिला जनप्रतिनिधिमाथि दुव्र्यवहारको घटनामा निष्पक्ष अनुसन्धानको माग

गुल्मी, महिला जनप्रतिनिधिमाथि भएको दुव्र्यवहारको घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न जिल्लाका विभिन्न राजनीतिक दलहरूले माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राष्टिूय जनमोर्चाले  संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष माथि भएको दुव्र्यवहारको घटनालाई लिएर निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न दलहरुले माग गरेका हुन् ।

२०८३ जेठ ८ गते सिमलटारीमा आयोजित आध्यात्मिक ज्ञान जागरण एवं वैदिक संस्कृति संरक्षण समाजको कार्यक्रममा सहभागी हुन जाने क्रममा महिला जनप्रतिनिधि तथा कर्मचारीहरूमाथि दुव्र्यवहारको भएको घटना बाहिरिएको थियो । विज्ञप्तिअनुसार कार्यक्रममा सहभागी हुन जाने टोलीलाई केही व्यक्तिहरूले पछ्याउने, बाटोमा रोक्ने, गालीगलौज गर्ने, धम्की दिने तथा सवारी चालकलाई समेत कुटपिट गर्ने जस्ता गतिविधि गरेका थिए । घटनामा संलग्न व्यक्तिहरूले पूर्वयोजनाअनुसार कार्य गरेको आशंका व्यक्त गर्दै दलहरूले यसको गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् । संयुक्त विज्ञप्तिमा पीडित पक्षले दिएको जाहेरी तत्काल दर्ता नगरी ढिलाइ गरिएको तथा जनप्रतिनिधिहरूको दबाबपछि मात्र प्रहरीले उजुरी दर्ता गरेको आरोप लगाइएको छ । जाहेरी दर्तापछि पनि लामो समयसम्म प्रभावकारी अनुसन्धान अगाडि नबढाइएको भन्दै दलहरूले प्रहरी प्रशासनको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् । महिलाहरूले न्यायको माग गर्दै आन्दोलन थालेपछि मात्र केही आरोपितलाई नियन्त्रणमा लिइएको तर अनुसन्धान प्रक्रिया चलिरहेको जानकारी गराउँदै उनीहरूलाई रिहा गरिएको दाबी पनि विज्ञप्तिमा गरिएको छ । यस घटनाले प्रशासन र प्रहरीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको दलहरूको भनाइ छ । महिला जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रमा निर्भीक र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै दलहरूले गुल्मी प्रशासन र प्रहरीको भूमिकालाई निन्दनीय बताएका छन् । साथै, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा सम्बन्धित निकायलाई घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै निष्पक्ष अनुसन्धान अघि बढाउन आग्रह गरिएको छ ।

दलहरूले प्रशासनले सुशासन, कानुनी शासन र न्यायिक प्रक्रियाको प्रत्याभूति नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । त्यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवारी प्रशासनले नै वहन गर्नुपर्ने उनीहरूको भनाइ छ । उक्त संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति खिलध्वज पन्थी, नेकपा (एमाले) का उपसचिव चक्रबन्ध भुसाल, नेकपाका संयोजक तेजिन्द्र सलामी मगर तथा राष्टिूय जनमोर्चाका प्रतिनिधि हरि न्यौपानेको हस्ताक्षर रहेको छ । दुव्र्यवहारको घटनालाई लिएर गुल्मीका विभिन्न संघसंगठनमा आबद्ध महिलाहरूले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन् । उनीहरुले इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरमाथि आक्रमण गर्न खोज्ने समूहलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र समग्र महिलाहरूको सुरक्षाको माग राख्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update