Shittalpati
‘संविधान दिवस’ को एक दशक

पाल्पा, असोज ३ संविधान दिवस । संविधान जारी भएको एक दशक  पुगेको छ । सात दशकभन्दा लामो संघर्ष, निरन्तर विभिन्न विषयमा भएका आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, जनआन्दोलन लगायतका अनेकौं राजनीतिक घटनाक्रमपछि नेपाली जनताले बहुप्रतिक्षित संविधान हात पारेका हुन् ।

तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाबाट पारित संविधान प्रमाणीकरण गर्दै देशलाई नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानबद्ध संरचना दिएको घोषणा गरेका थिए । तर, संविधान जारी भएको १० वर्ष पूरा हुँदा यसले अपेक्षित परिणाम दिन सकेको छैन भन्ने धारणा बलियो बनेको छ । राजनीतिक दलहरूकै असहमति, कार्यान्वयनमा ढिलासुस्ती, प्रतिनिधित्व र अधिकारसम्बन्धी विवाद, संघीयताको अस्थिरता र न्यायिक प्रशासनिक व्यवस्थापनमा कमजोरीका कारण संविधान कार्यान्वयनमा असफल भएको निष्कर्ष निकाल्न सकिन्छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको थियो । यसैको खुसीयालीमा शुक्रबार देशभर संविधान दिवस मनाइएको छ । संविधान जारी भएको दिनको खुसीयाली एकातिर छ भने अर्कोतर्फ संविधानको मर्म मिच्दै मुलुक अगाडि बढेको पीडा पनि छ । संविधान निर्माणको एक दशक कतै आशा, कतै निराशा रह्यो । संविधान आएको यतिका वर्ष भइसक्दासम्म जनताले स्थानीय सरकारबाट प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

संविधानको धारा  ५६ (२) मा नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्ने उल्लेख छ । तर, प्रदेश र स्थानीय तहले राज्यशक्तिको प्रयोग गर्ने गरी कानुनहरू अझै बनिसकेका छैनन् । संविधान सफल नहुनुमा राजनीतिक दल र उनीहरुको ईच्छाशक्ति बाधक बन्दै गएको तानसेन बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका गम्भीर रायमाझी बताउँछन् । राजनीतिक दलहरुले संविधानको मर्म विपरीत कार्य गर्दै गएकाले जनतामा निरास छाएको उनको भनाई छ । रायमाझी भन्छन् ‘संविधानले जनताको आवश्यकता र अधिकारहरुलाई सुनिश्चित गर्नुपर्छ ।’ संविधान कार्यान्वयन नहुँदाको परिणाम अहिले जेनजी आन्दोलन सम्म आई दलहरुबाट निर्माण सरकार ढलेको छ । नेपालमा भएको जेनजी आन्दोलनले युवा पुस्ताको राजनीतिक सचेतना, समान अवसरको माग, सामाजिक न्याय र उत्तरदायी शासनको आवश्यकता स्पष्ट रूपमा अभिव्यक्त गरेको छ । यस आन्दोलनले देखाएको असन्तुष्टि केवल तत्कालीन नीतिगत कमजोरीप्रति मात्र नभई संविधानमा रहेका व्यवहारगत असमानता, कार्यान्वयनको कमजोरी र भविष्य प्रतिको अनिश्चितताप्रति हो ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update