Shittalpati
पक्लिहवाका युवाले खुवाए १३ हजार बढी नागरिकलाई निःशुल्क खाना

पाल्पा । रुपन्देहीको भैरहवामा रहेको “नयाँ गाउँ–रानीगाउँ युवा समाज” पक्लिहवामा आवद्ध युवाहरुले १३ हजार बढी नागरिकलाई निःशुल्क खाना खुवाएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) का कारण देश लकडाउनमा रहेको अवस्थामा यसको असरलाई न्युनिकरण गर्ने प्रयास स्वरुप समस्यामा परेका १३ हजार २ सय ७० नागरिकहरुलाई यु.सि.यम.यस. प्राङ्गणमा निःशुल्क शाकाहारी खाना खुवाएका हुन् ।

लामो समयदेखिको लकडाउनका कारण अस्पताल वरपरका होटल, रेष्टुरेन्ट, पसलहरु पूर्णतया बन्द भएका कारण गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, रोल्पा, रुकुम, प्युठान लगायतबाट मेडिकल कलेजमा उपचार गराउन आएका गरिब, विपन्न परिवार, उपचाररत विरामी, विरामी कुरुवाहरु खाना खानबाट वञ्चित हुनुपरेको अवस्थालाई ध्यानमा राखेर समाजमा आवद्ध युवाहरुले खाना खुवाएका हुन् । बन्दाबन्दीका बेला समाजसेवाका भावले ओतप्रोत भएका युवाहरूले पोषणयुक्त तथा स्वादिष्ट खाना खुलाउने अभियान नै सञ्चालन गरेर पवित्र सेवा कार्यमा निरन्तर लागेका छन् । युवाहरुले कोभिड १९ को प्रवाह नगरी अग्रपन्थीमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई समेत आवश्यक सहयोग गर्दै आएका छन् ।

स्व.जसमान गुरुङ्ग तथा स्व.लोक कुमारी गुरुङ्गको स्मृतिमा बुटवल निवासी समाजसेवी केशव गुरुङ्ग, सि.न.पा. ७ निवासी श्री खेमराज भुसाल, साथै खजुरियामा अवस्थित विनायक फार्मेसी,देव लक्ष्मी मेडिकल हल, विन्दवासिनी फार्मेसी, धौलागिरी मेडिको सेन्टर तथा जावेद अख्तर र देशविदेशमा रहेका विभिन्न समाजसेवी, संघसंस्थाहरुको सहयोगमा अभियान सञ्चालन गरिएको समाजका सुशील गुरुङ्गले जानकारी दिए । देश–विदेशमा रहेका समाजसेवी, दाता, सहयोगी संघ–संस्थाहरुबाट प्राप्त भएको ९ लाख ६० हजार अभियानमा खर्च भएको गुरुङ्गले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update