Shittalpati
तिनाउका विपन्न परिवारलाई अनुदानमा बाख्रा

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका २ का विपन्न परिवारलाई अनुदानमा बाख्रा वितरण गरिएको छ । वडा कार्यालयले वडामा रहेका एकल महिला, गरिब तथा विपन्न परिवारको आर्थिक उपार्जनका लागि अनुदानमा उन्नत जाताका बाख्रा वितरण गरेको हो । वडालाई कृषि र पशुपालनमार्फत समृद्ध बनाउने गरी वडाले विपन्न परिवाका लागि अनुदानमा बाख्रा, विउविजन दिर्दै आएको छ । चालु आर्थिक वर्षमा ३ लाख रकम विनियोजन गरेर वडाले विभिन्न टोलमा रहेका कृषकहरुलाई ३२ वटा बोयर जातका बाख्रा तथा बोका वितरण गरेको हो ।

वडाले आय आर्जनका लागि शतप्रतिशत अनुदानमा जमुना पारको बाख्रा र सुकेताल र गणेशटोल समुहलाई उन्नत जातको बोका वितरण गरेको छ । गाउँपालिका अध्यक्ष ओम घर्तीले कृषकलाई बाख्रा हस्तान्तरण गरेका थिए । बाख्रा हस्तान्तरण गर्दै अध्यक्ष घर्तीले गाउँपालिकालाई पशुपालन र कृषिमा आत्मानिर्भर गराई गाउँपालिकालाई समृद्विको दिशामा अगाडि बढाउन कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिर्दै आएको बताए । उनले कृषकहरुलाई अनुदानमा दिएका वस्तुहरुको सहि सदुपयोग गर्न आग्रह गरे । मागको आधारमा बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष राजेश श्रेष्ठले बताए । उनका अनुसार ४८ वटा निवेदन परेकामा प्राथमिकताका आधारमा कुनै पनि टोल नछुट्ने गरी ३२ जना कृषकलाई छनोट गरिएको हो । बाख्रा पाएपछि कृषकहरु उत्साहित भएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update