
मुलुकभर डेंगु फेरि फैलिँदै छ । वर्षा शुरु भएसँगै डेंगु रोगका विरामीहरु अस्पतालमा बढ्न थालेका छन् । संक्रमणको जोखिम पहिलेभन्दा गम्भीर ढंगले पहाडी र हिमाली क्षेत्रमा समेत फैलिएको छ । डेंगु मात्रै नभई अन्य पानीजन्य र कीटजन्य रोगहरूले पनि व्यापक असर पार्न थालेका छन् । यसतर्फ सचेत हुन आवश्यक छ । विगतमा डेंगुका कारण धेरैले ज्यान गुमाउनु परेको थियो । त्यस बेलाको चेतना र अनुभवबाट पाठ सिक्नुको सट्टा राज्य संयन्त्र अहिले लाचारीको अवस्थामा छ । स्थानीय तहहरूले विगतमा लामखुट्टे खोजी तथा नष्ट गर्ने अभियान चलाए पनि अहिले यस्ता गतिविधि देखिँदैनन् । राज्यको निष्क्रियता, जनसाधारणको असावधानी र रोग नियन्त्रणको तयारी नहुनुले गर्दा डेंगुले महामारीको रुप नलेला भन्न सकिन्न ।
डेंगु भाइरस एडिस एजिप्टाई लामखुट्टे र एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्छ । प्रायः दिउँसो टोक्ने यी लामखुट्टेले नै चिकनगुनियाँ, यलो फिभर, जिका संक्रमणसमेत फैलाउँछन् । यो रोग मानिसबाट मानिसमा सर्दैन । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिमा सार्छ । घाम उदाएको २ घण्टादेखि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडिसम्म यो लामखुट्टे बढी सक्रिय हुन्छ । त्यसैले उक्त अवधिमा बढी सतर्कता अपनाउनुपर्छ ।संक्रमणबाट बच्ने एउटै उपाय, यो रोग सार्ने लामखुट्टेको टोकाइबाट जोगिनु हो । यसका निम्ति पहिलो त, लामखुट्टेलाई फैलने वातावरण दिनु हुन्न । टिनका डब्बा, प्लास्टिकका खोल, टायर, सिसी, अन्डाका बोक्रा, ड्रम, गमला, पानी ट्यांकीजस्ता पानी जम्ने भाँडामा यो लामखुट्टेले फूल पार्छ । त्यसैले यसलाई हुर्कनै नदिन घरभित्र मात्र होइन, वरिपरि पनि पानी जम्न दिनु हुँदैन । भाँडाकुँडा, गमला, छत, बरन्डा, बार्दलीलगायत घरका सबै अन्तरकुन्तरमा ध्यान पु¥याउनुपर्छ । एउटा मात्रै लामखुट्टे छुट्यो भने पनि त्यसको वंशवृद्धिले छोटो समयमै टोल नै प्रभावित पार्न सक्छ । दोस्रो, लामखुट्टे र त्यसका लार्भा नष्ट गर्न सरकारी संयन्त्रहरूले औषधि छर्कने अभियान चलाउनुपर्छ । यस क्रममा अन्तर्राष्ट्रिय रूपमा वर्जित विषादीहरूको प्रयोग भने गर्नु हुन्न । कम्तीमा ‘पोस्ट मनसुन’ अर्थात् कात्तिक–मंसिरसम्म प्रकोप जारी रहन सक्छ । हिउँदमा लामखुट्टे निष्क्रिय रहेका बेला त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्न नसके अर्को वर्ष फेरि डेंगु देखिनेछ’ त्यसैले सरकारले यो अभियानमा विशेष जोड दिन जरुरी छ ।