Shittalpati
पाल्पामा यसरी मनाइयो रोपाइँ जात्रा

पाल्पा, परम्परागत रुपमा गरिँदै आएको रोपाइँ जात्रा सोमबार पाल्पाको सदरमुकाम तानसेनमा भव्य रुपमा मनाइएको छ । युवापुस्तामा संस्कृति हस्तान्तरण गर्ने र परम्परालाई निरन्तरता दिने उद्देश्यले रोपाइँ जात्रा निकालिएको हो ।

लोकधुनमा सार मिलाउँदै धान रोपेको अभिनय गरेर जात्रामा देखाइयो । अभिनय गर्ने बच्चा र तन्नेरीको लर्कोले बजार परिक्रमा गरेको थियो । हली, बाउसे, रोपहार, जातीय भेषभूषामा सजिएका थिए । अघिअघि गोरु, हली र बाउसे अनि पछिपछि रोपारले धान रोपेर रोपाइँको झल्को दिने गरी  रोपाइँ जात्रा निकालिएको थियो । 

जात्रामा सहभागी मानिसहरु गोरुको मुकुण्डो लगाएर जुवामा नारिएका देखिन्थे । बोरा र भांग्रा लगाएका मान्छे गोरु जस्तो बनेर जुवामा नारिएर अघि–अघि हिँडे भने हातमा लठ्ठी लिएका व्यक्ति अनौ समाउँदै पछि–पछि, रोपाहार र बाउसेले असारे भाकामा गीत गाएका दृश्य जात्रामा देख्न सकिन्थ्यो । स्थानीयले हरेक वर्षजस्तै हर्षोल्लास पूर्वक यहाँ रोपाइँंजात्रा मनाए । यस वर्ष तानसेनको साँस्कृतिक परम्परा जोगाउन देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय, तानसेन नगरपालिका–७  र धरम्पानीले  तानसेनमा रोपाइँजात्रा प्रदर्शन गरे । देववाणी माविले पहिलो पटक विद्यार्थी, शिक्षक, अभिभावक मिलेर पञ्चेबाजा र असारे गीतको तालमा  धान रोप्ने, हल गोरुले सडकमा जोत्ने, बाउसेले खेत मिलाउने र  असारे  गित गाउदै  तानसेनका सडकमा रोपाई जात्रा देखाए ।  विद्यालयले रोपाईमा गरिने सम्पूर्ण गतिविधीहरु प्रदर्शन गरी गतिलो उदाहरण दिएको छ ।  रोपाइँ जात्रामा जनप्रतिनिधी, प्रशासन, सुरक्षा निकायहरुको पनि सहभागीता रहेको थियो । बालवालिकाहरुलाई धान खेती सम्वन्धी जानकारी दिन, विगतको कलासंस्कृति र परम्परा जोगाउन विद्यालयले रोपाइँ जात्रा प्रदर्शन गरेको  विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताए । 

विगतका बर्षहरुमा  धरमपानी,  बराङ्दी  र सापाखुम टोलविकास संस्थाले रोपाइँजात्रा निकाले पनि  यस बर्ष भने यी तीन  संमूहले मात्र रोपाइँ जात्रा प्रदर्शन गरे । मल्लकालीन समयदेखी नै तानसेन नगरसँग जोडिएका ग्रामिण भेगका किसानहरुले गाईजात्राको अर्काे दिन रोपाइँजात्रा सञ्चालन गर्ने प्रचलन रहेको छ ।  परम्परादेखी चल्दै आएको कलासंस्कृतिलाई  जोगाउन सबै पक्षको सहयोग जरुरी रहेको सस्कृतिकर्मी बुद्धि प्रसाद शर्माले बताए ।  विगतका समयमा  तानसेन नगरपालिकामा  विभिन्न स्थानबाट  चारदेखी पाँच वटा रोपाइँजात्रा प्रदर्शन हुने गरेका थिए । यस बर्ष तानसेनमा तीन वटा  समुहले मात्र रोपाइँ जात्रा सञ्चालन गरेको तानसेन– ७ का वडा अध्यक्ष प्रदिप खनालले बताए । रोपाइँ जात्रा निकाल्न निकै खर्चिलो र जनशक्ति बढी चाहिने भएकाले कठिन हुँदै गएको वडा अध्यक्ष खनालले बताए । तानसेन विभिन्न जात्रा तथा कलासंस्कृतिको धनी मानिए पनि पछिल्लो समय विविध कारणले यहाँको संस्कृति लोप हुँदै  गएको छ ।  यस बर्ष तानसेन नगरपालिकाले प्रति रोपाइँ जात्रा वापत ५० हजार सहयोग गर्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।  पर्यटकीय नगरको रुपमा परिचित तानसेनको मौलिक कलासंस्कृति लोप हुन नदिन सबैको सहयोग सहकार्य, समन्वय हुन जरुरी उनले बताए ।  

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update