Shittalpati
पाल्पामा निकालियो गाईजात्रा : तानसेनमा सार्वजनिक विदा  

पाल्पा, तानसेन सहित पाल्पाका विभिन्न नेवारी बस्तीहरुमा गाईजात्रा निकालिएको छ ।  एक बर्ष भित्र दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ । विशेषगरी नेवारी समुदायमा गाईजात्रा परम्परा चलन चल्तीमा रहेको पाईन्छ ।

नेवार समुदायको बसोबास रहेको तानसेन, हार्थाेक, ताँहु, भैरवस्थान, पेलावास, रिडी लगायतका क्षेत्रमा परम्परागत रुपमा  गाईजात्रा निकालिएको छ । नेवारी समुदायमा गाईजात्रा मनाउने विभिन्न मान्यता रहेको पाईन्छ । पाल्पामा कसैले धार्मिक परम्परा अनुसार गाईजात्रा मनाउने गर्दछन् भने केही समुदायमा भने मनोरञ्जनको लागि गाईजात्रा मनाउने गरिएको छ । विगतमा मनोरञ्जनका कुनै आधुनिक साधन र प्रविधि नहुँदा विभिन्न किसिमका जात्राहरु नै मनोरञ्जनका साधनका रुपमा परिचित रहेका थिए ।

 गाईजात्रालाई मृत्यु गणनाको दिनको रुपमा पनि लिने गरिन्छ । राजा प्रताप मल्लको छोराको मृत्यु भएपछि रानीले शोक गरिरहेको समयमा अन्य मानिसहरुको मृत्यु भइरहेको छ भनेर रानीलाई सम्झाउन, बर्षभरीमा मृत्यु गणनाको रेकर्ड राख्न गाईजात्रा निकाल्ने परम्पराको शुरुवात भएको  संस्कृतिविद् निर्मल श्रेष्ठले बताए । मृतकको घरपरिवारबाट गाईजात्रा निकाल्दा मृतक व्यक्तिको स्वर्गमा बास हुने मान्यता रहेको छ । गाईजात्राको दिन यमलोकको ढोका खुल्ने भएकाले मृतकको नाममा जनै पूािर्णमाको भोली पल्ट गाईजात्रा निकाल्ने चलन रहेको छ । घरपरिवारबाट  मृतकको नाममा राधा कृष्ण तथा विभिन्न भगवानका रुप बनाए मानिसलाई सिंगार पटार गर्ने, निगुर्ण भजन, कृर्तन गर्दै, मृतकको फोटो देखाउदै आफन्त, ईष्टमित्र, साथीभाईको साथमा तानसेनमा गाईजात्रा निकालिएको हो । आर्थिक अवस्था कमजोर भएका घर परिवारबाट भने छोराहरु जोगीको रुप धारण गरेर भिक्षा माग्ने, कसैले सक्कली गाईलाई डोर्‍याएर हिड्ने, कसैले काम्ले गाई, बासा,  ताहमचा, बनाएर गाईजात्रामा पदर्शन गर्दै आएका छन् । आजकल नेवारी समुदायको सिको गरी अन्य समुदायले पनि गाईजात्रा मनाउँदै आएको तानसेन कैलाशनगरका लक्ष्मण रावलले बताए । मानिसको बसाई सराईसँगै परम्परागत कला संस्कृति पनि हराउँदै गएका छन् । नेवारी समुदाय तानसेनबाट विस्थापित हुँदै जादाँ परम्परागत कलासंस्कृतिमा पनि कमि आएको छ । विभिन्न बहाना तथा अत्याधिक खर्चको कारण गाईजात्रा विगतका बर्षहरुमा जस्तो चहल, पहल, भिडभाड र रौनक हराउदै जान थालेपछि नेवा गुठी तानसेन पाल्पाले संयुक्त रुपमा गाईजात्रा निकालेको छ । नेवारी समुदायको परम्परा संस्कृति बचाउन, खर्चलाईलाई व्यबस्थित गर्न सामुहिक रुपमा गाईजात्रा निकालिएको नेवा गुठी तानसेनका अध्यक्ष प्रकाश गंङ्गोलले बताए ।

तानसेनमा निकालिने सबै जात्राहरु पाल्पा दरवारमा पुर्‍याउने परम्परा रहेको छ । पाल्पा दरवार तत्कालिन समयमा पश्चिम क्षेत्रको प्रशासनिक केन्द्र रहेकोले तानसेन बाट निकालिने हरेक किसिमको जात्रा दरवारमा पुर्‍याउने परम्परा रहेको हो । गाईजात्रा लिएर दरवारमा पुग्नेहरुलाई सर्वसाधारणहरुले मिठाई, पानी, फलफूल, दुध खुवाएका छन् । सरकारले तानसेन नगरलाई सांस्कृतिक नगरको रुपमा मान्यता दिएको छ । तानसेनमा अधिकाश कलासंस्कृति नेवारी  र मगरी भेषभुषामा आधारित रहेका छन् । स्थानीय कला संस्कृति जोगाउन, बजार चहल पहल बढाउन नै तानसेन नगरपालिकाले गाईजात्राको दिनमा स्थानीय विदा दिएको छ । स्थानीय कला संस्कृति जोगाउन, संरक्षण गर्न स्थानीय सरकारको  प्रमुख भुमिका र जिम्मेवारी रहन्छ ।

 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update