
पाल्पा, सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौंको भाइ मानिँदै आइएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वर स्थलका रूपमा तानसेन परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरू भइरहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक सहर समेत भनिन्छ ।
तानसेनमा जनै पूर्णिमा आर्थात् आजदेखि दश दिनसम्म निरन्तर जात्रा निकाल्न शुरु भएको छ । जनै पूर्णिमाको दिन दिउँसो चुइँकी निकालिन्छ । झ्यासी न्यासी झ्याई बाजा बजाउँदै, थोत्रो मादल ठटाउँदै, बोराको कपडा लगाई च्यातिएको छाता ओढ्दै, खाली लट्टाइले हावामा चङ्गा उडाउँदै, खेलौनाको बच्चा नचाउँदै, खाली ऐना देखाउँदै, विचित्र भेषभूषा लगाएका मानिसहरूले बजारको चोक–चोकमा गई हाँस्य व्यङ्गय पाराले यमराजको सन्देश भनेर चुईंकी सुनाउँछन् । चुँइकीमा हाँस्य व्यङ्गय समूहले व्यङग्यात्मक रुपमा मृतक परिवारलाई लक्षित गरी गाईजात्राको दिन मृतक सदस्यको नाममा जिउँदो गाई वा नक्कली गाई, ताहामचा, जोगी, बासा आदि निकाल्न सन्देश सम्प्रेषण गर्ने प्रचलन रहेको छ । जसअनुसार गाईजात्राको दिनमा निर्गुण, रामायण, भजनकिर्तनका साथै यमराजको दरबारमा हाजिर हुनु भन्ने सन्देश फैलाउन चुँइकी निकाल्ने परम्परा रहेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका मदन देउरालीले बताए । पछिल्लो समय धेरै समूहले चुँइकी निकाल्नै छाडेका उनको भनाई छ । १० दिनसम्म मनाइने विभिन्न जात्राको निम्तो गर्नका लागि पनि बजारमा ‘चुइँकी फिराइ’ निकाल्ने प्रचलन रहेको उनले बताए ।
चुइँकी फिराइको अर्को दिन गाई जात्रा निकाल्ने गरिन्छ । राजा प्रताप मल्लले काठमाडौंमा गाईजात्रा मनाउने चलन चलाएका थिए भने पाल्पामा काठमाडौंबाट आएका नेवार समुदायले तानसेनमा गाईजात्रा मनाउने चलन चलाएका हुन् । गाईजात्राको दिन विशेष गरी महिला मृतकको सम्झनामा काम्ले गाईका साथै जोगी, वासा, देवी देवताको स्वरुप बनाएर बजार घुमाइन्छ । निर्गुण भजन गाईन्छ । दरवारमा पुर्याइन्छ । दरवारमा पुर्याइनुको मतलव यसदिन यमराज दरवारमा बसेका हुन्छन् रे यसो गरिदा मृतकहरू सजिलै स्वर्ग जान्छन् भन्ने विश्वास छ । यहाँ चुँइकी र गाईजात्रासँगै, रोपाइँजात्रा, बाघ जात्रा, गणेश (श्रीनगर, टक्सार) भीमसेन, अमरनारायण, कृष्ण, भगवती जात्रा निकाल्ने प्रचलन छ । तर पछिल्लो समय आधुनिकताका कारण यहाँका जात्राहरु रौनक भने क्रमशः घट्दै गएको छ । यहाँका जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर गाउँ–गाउँबाट जात्रा हेर्न तानसेन आइपुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्यापेर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै आउने गर्दथे, तर हिजोआज भने पहिले जसो जात्रा निकाल्नै छोडिएको छ । खर्चिलो हुुने हुँदा कही कतैबाट सहयोग नपाएका कारण यहाँ विस्तारै जात्रा निकाल्न छोडिएको स्थानीयहरु बताउँछन् ।