Shittalpati
बुटवलमा अतिक्रमण गरी बनाइएका घर–टहरामा उपमहानगरको डोजर चल्यो

बुटवल,बुटवलमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना बुटवल उपमहानगरपालिकाले भत्काउन सुरु गरेको छ । आइतबार उपमहानगरले उक्त क्षेत्रमा बनाइएका घर–टहरामाथि डोजर चलाएको हो ।बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर,बुटवल इजलासको स्वामित्वमा रहेका घर–टहरा हटाउन  उपमहानगरपालिकाले शनिबार सूचना जारी गरेको थियो ।

उसले माइकिङ गरेर घरटहरा खाली गर्न सार्वजनिक सूचना आह्वान गरेको हो । त्यस क्षेत्रको सार्वजनिक जग्गा मिचेर वर्षौदेखि भोगाधिकार गर्दै आइरहेका व्यक्तिहरुले  उपमहानगरपालिकाको सूचना लगत्तै आइतबार बिहानैदेखि सामानहरू सारेका थिए । उच्च अदालत तुलसीपुर बुटवल इजलासको अनुरोधमा अतिक्रमणमा परेको उच्च अदालतकै जग्गा उपमहानगरपालिकाले खाली गराउन थालेको हो । बुटवल जेसिज चोकबाट उत्तरतर्फको दरबार मार्गको सडकमा रहेको पश्चिमतर्फ अतिक्रमणमा साबिकको कित्ता नं. ३९६ को २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा रहेका अनधिकृत घर टहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । सरकारी लिखत तत्कालीन अञ्चलाधीशको नाममा रहेको जग्गा २०४६ सालमा अञ्चलाधीश कार्यालय खारेज भएपछि २०४८ पुस ४ गतेको श्री ५ को सरकारको बैठकले उक्त जग्गा तत्कालीन पुनरावेदन अदालत हालको तुलसीपुर उच्च अदालत बुटवल इजलासलाई उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसपछि अदालतले आफ्नो नाममा श्रेस्ता कायम भएको जग्गा खोजबिन गरेपनि अतिक्रमण गरी घर टहरा बनाएकाहरुलाई हटाउन सकेको थिएन । यस क्षेत्रको जग्गा विगत एक दशकदेखि अतिक्रमित हुँदै आइरहेको थियो ।

यहाँ १५ जनाभन्दा बढीले घर टहरा निर्माण गरेर व्यापार व्यवसाय गरिरहेका थिए । केहीले भाडामा लगाएका थिए । अतिक्रमित जग्गामा व्यवसायी, कर्मचारी र राजनीतिक दलका नेताहरुलेसमेत घर बनाएर बसेको बुझिएको छ । पछिल्लो समय बुटवल उपमहानगरपालिकाले बुटवल क्षेत्रका फूटपाथ हटाउने अभियानलाई समेत कडाइका साथ कार्यान्वयन गर्दै आइरहेको छ । बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले यहाँका फुटपाथमा डोजर लागाएको हो ।  अहिले बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण हटाइएको छ । निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख खेलराज पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो । फुटपाथ खाली गरिएसँगै पैदलयात्रीलाई सहज आवागमनको सुविधा पुगेको छ भने सवारी चाप व्यवस्थापनमा समेत सहयोग पुगेको छ । यसले दुर्घटना न्यूनीकरण, ट्राफिक जाम नियन्त्रण र सार्वजनिक स्थानको प्रभावकारी उपयोगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । साथै, शहरको सौन्दर्य वृद्धि भई पर्यटक आकर्षण बढ्ने र दीर्घकालमा व्यवस्थित व्यापारिक वातावरण निर्माण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ । तर फुटपाथ व्यवसायीहरुले भने बैकल्पिक स्थान दिनुपर्ने माग गरेका छ

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update