
पाल्पा, नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व विहीबारदेखि सुरु भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् सुरु भएको हो ।
पर्वमा सांस्कृतिक बाजा गाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । नेपाल संवत अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने गर्दछ । तानसेनमा पनि नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् । गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । खेतीपाती सकेर मानिसहरु फुर्सद हुने र अन्य चाडबाडलाई पनि मध्यनजर गरी खुशीयाली साट्ने पर्व हो । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताकोसमेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् । गुँलामा श्रभेरी अर्थात् सिङ बाजा फुकाउने चलन राजा सिद्धिनरसिंह मल्लले सुरुवात गरेको परम्परा मानिन्छ । श्रभेरी कथाअनुसार मृतकको नाममा स्वयम्भू महाचैत्यमा श्रबाजा बजाई परिक्रमा गर्ने र पूजा गर्ने चलन छ । शृ·भेरी अर्थात् सिङ बाजा फुकाउने चलनबारे एक किंवदन्ती यस्तो रहेको छ– ब्राह्मण कुलमा जन्मिएकी रूपवती एक दिन जंगलमा भैँसी चराउन पुगिन् । यसै क्रममा भैँसी भीरबाट खसेर मरकाले उनी भैँसी मरेको दुःखका रुँदै बसिरहेकी थिइन् । त्यहाँ रूपवतीलाई देखेर बोधिसत्व प्रकट भएर हेर्दा रूपवती पूर्वजन्ममा रानी थिइन् भने भैँसी पूर्वजन्ममा रूपवतीको लोग्ने राजा भएको बताउँछन् ।
पूर्वजन्ममा पापकर्म गरेको कारण भैँसीको जूनी भएर जन्म लिएको हुनाले बोधिसत्वले भने, उदार गर्ने भए भैँसीको सबै हड्डीहरू राखेर एउटा चैत्य बनाई एउटा सिङ फुकाउने र अर्का सिङमा २१ दिनसम्म जल राखेर सो जल निर्माण गरेको चैत्यमा चढाएमा पूर्वजन्ममा तिम्रो लोग्ने राजाले गरेको पापमुक्त हुन्छ भनेपछि रूपवतीले गुँला अवधिभर सिङ फुकेर यसका साथसाथै अन्य बाजा बजाएर चैत्य परिक्रमा गर्ने परम्परा सुरु भएको कथन रहेको पाइन्छ ।