Shittalpati
माथागढी गाउँपालिकाको सातौं गाउँसभा, स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा

रामचन्द्र रायमाझी

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएर तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ । गाउँपालिकाको सातौँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम सोमबार बसेको गाउँसभाको बैठकमा दफाबार छलफलपछि सर्वसम्मत पारित भएको हो । गाउँसभामा उठेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष थापाले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । नीति तथा कार्यक्रम गाउँपालिकाको एकीकृत विकास योजना कार्यान्वयनमा केन्द्रित रहेको उनकोे भनाइ छ । उनले वातावरणीय प्रभावलाई ध्यानमा राख्दै आर्थिक र सामाजिक क्रियाकलापहरुलाई सहभागितामूलक बनाई विदेशबाट फर्किएका र स्थानीय युवाहरुको रोजगार र स्वरोजगारको माध्यमबाट गरिबी न्यूनिकरण गर्दै माथागढीलाई सामाजिक परिवर्तन सहितको आर्थिक सवलीकरणको दिशा तर्फ उन्मुख गराउने बताए ।

विश्वव्यापी रुपमा असर पारेको कोभिड-१९ को संक्रमणलाई स्थिर बनाउन, रोकथाम गर्न तथा नियन्त्रणमा सफलता हासिल गर्ने लक्ष्यका साथ क्वारेन्टाइन निर्माण, व्यवस्थापन गर्दै परीक्षण, आइसोलेसन र उपचारका लागि आवश्यक प्रबन्ध मिलाउने, परीक्षणको दर बढाउन प्रदेश तथा संघीय सरकारसँग समन्वय र सहकार्य गर्ने, महामारीसँग जुध्न अग्रपंक्तिमा खटिएका कर्मचारीहरु एवं जनप्रतिनिधिहरुको मनोबल उच्च राख्न सबैको कोरोना बीमा गरिएको र कर्मचारीहरुलाई जोखिम भत्ता एवं अन्य प्रोत्साहनका कार्यक्रमहरु समेत सञ्चालन गरिने, गाउँपालिका भित्र कोरोना संक्रमणका कारण कुनै पनि नागरिकको दुर्भाग्यबस मृत्यु हुन गएमा काज किरिया र सहयोग बापत ५० हजार उपलब्ध गराउने, कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई समाजमा पुनःस्थापित गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने, स्वास्थ्यचौकीलाई न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तियुक्त बनाई भरपर्दो र विश्वसनीय सेवासहितको आकर्षक स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोभिड १९ ले विद्यालयमा पारेको प्रभावलाई न्यूनिकरण गर्दै संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम तथा मापदण्ड निर्धारण गरी शैक्षिक कार्यक्रम चलाइने, ‘अध्यक्ष विद्यालय सुधार कार्यक्रम’ सञ्चालन गरी हरेक वडामा १/१ वटा प्रा.वि. स्तरका नमूना विद्यालय छनौट गरी आवश्यक पूर्वाधारहरुको व्यवस्थापन सहित सञ्चालनमा ल्याइने, विद्यार्थीहरुको प्रतिभा र सिर्जनशिलताको विकास गर्दै परिवर्तित समयमा आवश्यक पर्ने गुणहरु विकास गर्न परियोजना सिकाई कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने, ८०% भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकलाई प्रोत्साहित गरिने, प्राथमिक तहको गुणस्तर सुदृढिकरण गर्न र विद्यार्थीहरुको सिकाइ उपलब्धी मापन गर्न कक्षा ५ तथा कक्षा ८ को एसइई सरहको नै स्तरिकृत वार्षिक परीक्षा सञ्चालन गरिने, सबै उमेर समूहका बालवालिकाहरुलाई विद्यालय शिक्षामा समावेश गर्ने, आ.व. मा कक्षा ५ र ८ को पाठ्यक्रम र कक्षा २,३,४ र ७ को पाठ्यपुस्तक तयार गरिने गाउँपालिकाको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै प्रदेश सरकारको सहयोग र समन्वयमा ‘सामुदायिक बीउ बैंक तथा नश्ल संरक्षण केन्द्र’ स्थापना गर्ने, भूमि बैंकको स्थापना गरि भूमि बैंङ्कमा रहेका जग्गा गाउँपालिकाको मध्यस्थतामा खेती गर्न चाहने उद्यमी तथा कृषकहरुलाई करारमा खेती गर्न उपलब्ध गराउने, कृषकहरुलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न मल, बीउ एवं औषधी उपलब्ध गराइने, उत्पादनको बजारीकरणका लागि कृषि उपज संकलन केन्द्र स्थापना गरिने, कोभिड-१९ ले कृषि क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दे सहकारी तथा सामुहिक खेतिलाई जोड दिई विभिन्न कृषि कार्यक्रम सञ्चालन गरिने लगायतका महत्वकांक्षी योजना गाउँपालिकाको रहेको छ । माथागढी गाउँपालिका आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ल्याउने स्थानीय तह मध्ये जिल्लामै पहिलो स्थानीय तह हो । गाउँपालिकाले कोरोना भाईरस रोकथाम, उपचार, राहत तथा ब्यवस्थापन लक्षित नीति तथा कार्यक्रम पारित गरेसंगैअसार ८ गते बजेट प्रस्तुत गर्ने छ ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update