
पाल्पा, विश्व जनसंख्या दिवस नेपालमा पनि पनि मनाइँदैछ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धी समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ ।
संयक्त राष्ट्रसंघ विकास कार्यक्रम युएनडिपीले १९८९ यता यो दिवस मनाउन सुरु गरेको थियो । यो कार्यक्रम मनाउने योजना ११ जुन १९८७ बनेको थियो, जतिबेला विश्वको जनसंख्या ५ अर्ब पुग्यो अनि विश्व बैंकमा वरिष्ठ डेमोग्राफरका रुपमा कार्यरत डाक्टर केसी जाचारियाले यस्तो कार्यक्रम गर्न सुझाव दिए । विश्व जनसंख्या दिवसले जनसंख्यासँग सम्बन्धित विभिन्न सवाल जस्तै, परिवार नियोजनको महत्व, लैगिंक समानता, गरिबी, मातृ–शिशु स्वास्थ र मानवअधिकारबारे मानिसको जागरण बढाउने उद्देश्य राखेको छ ।
नेपालमा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धी संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् । एउटा सन्तुलित जनसंख्या बेगैर कुनै पनि देशको सुरक्षा, विकास दीगो भविष्यको कल्पना पनि गर्न सकिन्न । विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसंख्यामा आफ्नो अधिक्तम स्थान राख्ने चीनले बढ्दो जनसंख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेकोमा, पछिल्लो समय जनसंख्याको एउटा स्तर हासिल गर्न लामो समयको अध्ययन पश्चात् सन् २०१५ मा दुई सन्तान जन्माउन अनुमति सहित आफ्नो जनतालाई आह्वान गरेको छ । यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई समेत आफ्नो व्यक्तिगत तथा पारिवारिक समय निकाल्न तथा बढ्दो वृद्धवृद्धाहरूको जनसंख्यासँग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति अर्थात् बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरुमा जनसंख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।