Shittalpati
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिदैं

पाल्पा, आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ ।

 हरिबोधनी, ठूली एकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यसदिन विशेष गरी विष्णु भगवानको पूजासहित तुलसी विवाहको उत्सव मनाइन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा–आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी–पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यसदिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो ।

तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गर्ने गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । आदि कालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु किटाणुलाई नष्ट गर्छ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update