गुल्मी, हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा विशेष मेला एवं पूजा गर्ने भिड लागेको छ । हरिबोधिनी एकादशीको दिन धार्मिक स्थल रेसुङ्गामा ठुलो मेला लाग्नुका साथै स्नान र पुजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन् । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा शनिबार बिहानैदेखि गुल्मी लगायत विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनले पूजा गर्नुका साथै मेला अवलोकन गरेका थिए ।
सदरमुकाम तम्घासदेखि अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विशेष मेलामा भिड बढेको रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।
रेसुङ्गा क्षेत्रमा शुद्ध मनले पूजा–पाठ गरेमा मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ । त्रेतायुगमा ऋष्यशृङ्गले रेसुङ्गा क्षेत्रमा तपस्या गरेका थिए भन्ने उल्लेख वेद–पुराणहरूमा पाइन्छ । अयोध्याका राजा दशरथलाई सन्तान नहुँदा ऋष्यशृङ्गलाई अयोध्या बोलाई पुत्रेष्टि महायज्ञ सम्पन्न गराइएको थियो । सो यज्ञको प्रभावले दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्न जन्मिएका थिए भन्ने धार्मिक कथा पुराणहरूमा उल्लेख छ । यही कारणले रेसुङ्गा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल मानिन्छ । रेसुङ्गा क्षेत्रको उच्च भूभागबाट धवलागिरिदेखि मनास्लुसम्मका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यो क्षेत्र विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनका दृष्टिले पनि उपयुक्त मानिन्छ । यस मन्दिरमा दैनिकी रूपमा पूजा–अर्चना हुने गर्छ भने साउन महिनाभर मेला लाग्ने गर्दछ। साथै औंसी, ठूला एकादशी लगायत पर्वहरूमा ठूलो मेला लाग्ने परम्परा रहिआएको छ । यस क्षेत्रभित्र हाल पूर्वाधार विकाससँगै प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातातित्वक महत्वका स्थलहरूको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारका कार्यहरू भइरहेका छन् । पर्यटन प्रवद्र्धनका उद्देश्यले रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेको छ । यस अभियानबाट रेसुङ्गा क्षेत्रमा लाखौं पर्यटक भित्र्याउने लक्ष्य नगरपालिकाले लिएको छ ।


