
पाल्पा, आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । व्यास जयन्ती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ । ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश हुन्छ । यसरी अन्धकाररुपी अज्ञानलाई प्रकाशतर्फ डोर्याउन सफल हुनेलाई गुरु भनिएको हो ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ । यस दिन गुरुलाई सम्मान गरि उपहार समेत दिने गरिन्छ । कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ । पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ ।
हाम्रो शास्त्रमा देव गुरू बृहष्पति र असुर गुरू शुक्राचाय गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ । गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्छन् ।
व्यास जयन्ती
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।