Shittalpati
दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रमेश विश्वकर्मा

गुल्मी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ जिल्लाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा भएका जातीय विभेदको घटनाप्रति ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । नेपाल दलित संघका जिल्ला अध्यक्ष लुमबहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, दलित संघ उपाध्यक्ष शेरबहादुर विक, सचिव नविन विक, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि इश्वरी परियार लगायतका दलित नेताहरुले विभिन्न स्थानमा भएका जातीय विभेदका घटनाप्रति दोषीलाई कडा कारवाहीको माग गर्दै आईतबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

ज्ञापनपत्रमा रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धलाई लिई भएको नरसंहारको घोर भत्सर्ना गरिएको छ । जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीकी सुष्मा मल्ल बीच लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा प्रेमीका सुष्मा मल्लको आमा र उनका नजिकका नातेदार वडाअध्यक्ष डम्बर बहादुर मल्ल लगायतले गरेको सांघातिक हमलाबाट नवराज विक सहित ६ जनाको निधन भएको प्रति दलित संघ गुल्मीले घोर भत्र्सना गरेको छ ।

२१ औं शताब्दीको समाजमा पनि दलित समुदायहरु माथि देशका विभिन्न स्थानमा जातीय छुवाछुतका घटना भईरहेको नेपाल दलित संघका जिल्ला अध्यक्ष सुनारले बताए । उनले पोखराको क्रियापुत्री गृहमा भएको छुवाछुतको घटना, बुटवलमा भएको घरभाडा सम्बन्धी छुवाछुतयुक्त घटना, गुल्मीको कालीगण्डकी गाउँपालिकामा घरभित्र प्रवेशको घटना, रुकुमको नरसंहारकारी जातीय विभेदको घटना लगायत दलित समुदाय माथि भएका यस्ता घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेका छन् ।

नेपालको संविधान र विद्यमान कानून बमोजिम घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही गरि पीडितलाई न्याय, क्षतिपूर्ती र सामाजीक सुरक्षाको व्यवस्था गर्न नेपाल दलित संघले जोड्दार माग गरेको छ । प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापनपत्र बुझ्दै रुकुममा भएको घटनाले आफु अत्यन्तै दुःखी भएको भन्दै ज्ञापनपत्रलाई जस्ताको तस्तै प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update