Shittalpati
तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा


भुवन रायमाझी
पाल्पा(छहरा), तानसेन नगरपालिका अर्गलीस्थित रनुवामा भेटिएको अनौंठो गुफाको प्रचार –प्रसार र संरक्षणमा स्थानीय युवाहरु लागेका छन् । गुफाको प्रचार र संरक्षण गरी पर्यटकीय विकास गर्न युवाहरु सक्रिय रुपमा लागेका छन् । उनीहरुले अनौठौ गुफाको विस्तृत अध्ययन अगाडि बढाएका छन् । ४० मिटर लम्बाई रहेको सो गुफाभित्र ढुङ्गाका अनौंठा प्रकृतिका आकृति रहेका छन् । गुफाको संरक्षण गर्दै यसभित्र आवतजावत सहज बनाउन सके आन्तरिक पर्यटक भित्र्याउन सकिने अर्गेलीका स्थानीय दुर्गाराज पाण्डे बताउन्छन् । तानसेन–रिडी, तम्घास सडकखण्डको अर्गलीस्थित देउराली बजारबाट डेढ किलोमिटरको दुरीमा उक्त गुफा पुग्न सकिन्छ ।

गुफा नजिकै बद्रीनारायण मन्दिर परिसर रहेको छ । नेपालकै चर्चित धार्मिक क्षेत्र रुरु नजिकै रहेकाले पनि यस गुफाबारे थप अध्ययन र चर्चा हुन सके आन्तरिक पर्यटन भित्र्याउन सकिने अर्गेलीकै दुर्गादत्त रेग्मीको भनाई छ । गुफाको थप अनुसन्धान गरेर पाल्पाको एक महत्पूर्ण स्थानको रुपमा स्थापित गर्न तानसेन नगर सरकारले पनि ध्यान दिनुपर्नेमा युवाहरुले जोड दिएका छन् ।

गुफा प्रवेशलाई सहज बनाउन युवाहरूले भित्रको सरसफाइदेखि सिँढी निर्माणको काम गरेका छन् । स्थानीयले सिद्ध गुफा नाम दिएको यस गुफाको पुरातात्विक महत्वको बारेमा भने अझै पनि अध्ययन हुन बाँकी छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update