Shittalpati
पाल्पामा सरकार विरुद्ध युवाको स्वतस्पूर्त प्रदर्शन

पाल्पा । पाल्पामा युवाहरुले सरकारको कार्यशैली विरुद्ध स्वतस्फुर्त रुपमा प्रर्दशन गरेका छन् । जनतालाई लकडाउनमा राखि भ्रष्टाचार, अनियमितता र अव्यवस्था बढाउन थालेपछि युवाहरु दर्जनौ प्रश्न बोकेर सडकमा स्वतस्पूर्त रुपमा प्रदर्शनमा उत्रिएका हुन् । विभिन्न माध्यमबाट गरिएका प्रश्नहरुलाई सरकारले मजाक बनाएपछि आक्रोशित युवाहरु सडकमा ओर्लिएका थिए । उनीहरुले विभिन्न प्लेकार्डहरु सहित तानसेनको जिल्ला प्रशासन कार्यालय अगाडि विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा धर्ना समेत दिएका थिए ।

युवाहरुले सरकारको प्राथमिकता केमा कार्पेटमा जनताको खाली पेटमा, आरडिटी होइन,पिसिआर परीक्षण गर, हामीलाई पिसिआर चाहियो, अदुवा, लसुन, हिमालय हावा होइन, हरेक चिजमा भ्रष्टाचार लाज लाग्दैन सरकार, जिटुजि भनेको झन मिलेर खाने राष्ट्र लुट्ने खेल बन्द गर जस्ता नाराहरु बोकेका प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका हुन् । युवाहरुको प्रर्दशनलाई मध्यनजर गरेर जिल्ला प्रशासनले सुरक्षा व्यवस्था समेत कडा बनाएको थियो ।

जिल्ला प्रशासन कार्यालयको गेटबाट हुलाक, चोक वरपर भौतिक दुरी कायम गरेर युवाहरुले सरकारको काममा तदारुकता देखाउन र कोरोना भाइरसको रोकथाममा लाग्न आग्रह गरेका हुन् ।

सरकार बिरुद्धको आक्रोश भुसको आगो जस्तै सल्किन थालेपछि पाल्पा सहित देशका प्रमुख शहरहरुमा प्रधानमन्त्री र सरकार बिरुद्ध प्रदर्शन भएको छ । विना कुनै व्यानरमा ओर्लिएका नागरिकहरुले कोरोनाको उपचार र कोरोना रोगको व्यवस्थापनमा खर्चिएको दश अर्वको हिसाव मागेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update