
पाल्पा, कुनै बेला महिलाले बाजा बजाउनु त के छोए पनि ‘पाप’ लाग्छ भन्ने अन्धविश्वास यत्रतत्र, सर्वत्र थियो । उसबेला न महिलाले आफैं बाजा बजाउने आँट गरे न पुरुषले नै बाजा छुन तथा बजाउनमा महिलालाई सहयोग गर्न अघि सरे । तर अहिले समय फेरिएको छ । बाजा छुन नपाउने महिलाहरु नै बाजा बजाउने मात्रै होइन बाजाको संरक्षणमा समेत कम्मर कसेर लागि परेका छन् । त्यसको एउटा गतिलो उदाहरण हो, जिल्लाको रिब्दीकोट गाउँपालिका–३, को आदीवासी जनजाति समूह ।
संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि गाउँपालिका र वडा कार्यालयले महिलाहरुको लागि तालिमसँगै बाजाहरु किन्दिएपछि समूहमा आवद्ध महिलाहरु बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा विवाह, ब्रतबन्ध जस्ता शुुभकार्यमा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि यहाँका महिलाले व्ययसायिक रुपमा बाजा बजाउने पेशा अपनाएका हुन् । संस्कृति र पेशालाई संरक्षण गर्दै महिलालाई आयआर्जन तथा आत्मनिर्भर बन्नका लागि बाजा बजाउन सिकाइएको वडा अध्यक्ष नारायण बहादुर केसीले बताए । उनले भने “जनजाति लक्षित कार्यक्रम अन्तर्गत महिला आयआर्जन शिर्षकबाट पञ्चेबाजा बजाउन सिकाइएको हो ।” पहिलो चरणमा १० दिनका तालिम दिइएको अध्यक्ष केसीले बताए । महिलाहरुले अहिले बाजा बजाउन धेरै नै सिकिसकेका छन् । पहिलो चरणमा आधारभूत तालिम दिइए पनि आगामी दिनमा बजेट विनियोजन गरी थप तालिम दिइने उनले बताए । गत वर्ष गाउँपालिकाबाट वडामा विनियोजन गरेको ५० हजार बजेटमार्फत बाजा खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिप्रसाद खनालले बताए । उनका अनुसार यस वर्ष ५० हजार बजेटमार्फत महिलाहरुलाई बाजा बजाउन सिकाईएको हो । सिप र सामग्री पाएपछि महिलाहरुले व्यवसायिक रुपमा बाजा बजाउन थालेको उनको भनाइ छ । अहिले महिलाहरुले पालिकामा हुने कार्यक्रमहरुमा समेत उपस्थित भएर बाजा बजाउन थालेका छन् । उनीहरु केही दिन अघि भारकोट र रानीकुवामा भएको खेल प्रतियोगिताको उद्घाटनमा गई बाजा बजाएका थिए । समूहकी संयोजक अरुणा छहारीले गाउँपालिका र वडाको सहयोगबाट आफुहरुले बाजा बजाउन सिकेको बताईन् । उनले भनिन् “बाजा बजाउन सिक्दा संस्कृतिको संरक्षण पनि हुने र आम्दानी पनि गर्न सकिने हुँदा महिला दिदीबहिनीहरु उत्साहका साथ लाग्नु भएको छ ।” गाउँघरमा लोकबाजा, पञ्चेबाजा बज्न छोडेको अवस्थामा समूहबाट सुरू भएपछि अहिले नौमती र पञ्चेबाजाका धुन गुञ्जिन थालेको उनको भनाई छ । पञ्चेबाजा भनिए पनि यो समूहमा ९ जनाको टिम आवश्यक पर्छ । दुईजनाले सनाई, दुई जनाले कर्नाल, दुई जनाले दमाह बजाउँछन् । समूहमा एक/एक जनाले ढोलकी, ट्याम्को र झ्याली बझाउँछन् । नौँ वटा वाद्यवादनलाई एउटै सुर र तालमा मिलाएर एकैपटक बजाएको हेर्दा जति आनन्द लाग्छ बजाउन पक्कै पनि सजिलो छैन, तर उनीहरूको मेहनत र लगनशिलताले सहज बनाएको छ ।
“कसले के भन्छ, कसले कसरी हेरेको छ भन्नेतिर ध्यानै गएन, जसरी पनि राम्रोसँग बाजा बजाउनुपर्छ भन्नेतर्फ ध्यान गयो यसले पनि सिक्न र बजाउन सजिलो भयो” संयोजक छहारीले भनिन् । यो समूहमा ४० देखि ५५ वर्षसम्मका १६ महिला आवद्ध छन् । “गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो,” उनले भनिन् “छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कार कार्य नै प्रभावित हुने अवस्था आएपछि महिलाहरुले बाजा बजाउने सिप सिकेर व्यवसाय थालेका छौ ।” बाजा बजाउने सिप सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै आयआर्जनको अवसर सिर्जना भएको छहारीले बताइन् । पञ्चेबाजा संरक्षणको लागि भन्दै महिलाहरु अघि सरेपछि त्यसमा पुरुषहरुले पनि साथ दिएका छन् । बाजा बजाउनेदेखि त्यसका तालका विषयमा पुरुषले सहयोग गरेको समूहकी संयोजक छहारीले बताइन् । ‘हामी गर्छौं भनेर लागेपछि पुरुषहरुको पनि सहयोग पाएका छौं,’ उनले भनिन्, ‘काम गर्दै जाँदा पर्ने अफ्ठ्यारो परेको बेला सहयोग माग्दै आएका छौं ।’