Shittalpati
नर्स दिवस र नर्सिङ पेसा

अन्तर्राष्ट्रिय नर्स दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष यो दिवस मनाइन्छ । ‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा ब्रिटेनमा जन्मिएकी थिइन् । नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज सञ्चालन गरेकी थिइन । जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ । यो दिवस मनाउँदै गर्दा नर्सहरुको सम्मान गर्नु नै पर्छ । आफ्नो ज्यानको कुनै प्रवाह नगरी दिन रात, भोक भोकै विरामीको सेवामा समर्पित नर्सहरुको सम्मान गर्नका लागि पनि यो दिवस महत्वपूर्ण हुने गर्दछ ।

नेपालमा नर्सिङ लोकप्रिय पेसामध्ये पर्छ । हरेक व्यक्तिमा स्वास्थ्यप्रति चासो बढिरहेका कारण नर्सको माग दिनानुदिन बढ्दै गइरहेको छ । सातै प्रदेशमा अस्पताल, क्याम्पस, विद्यालय तथा विश्वविद्यालय खुलिरहेकाले र विभिन्न तहतप्काका नर्सिङ जनशक्तिको आवश्यकता पर्ने भएकाले गर्दा नर्सिङ पेसाप्रतिको आकर्षण बढ्दो छ । विशेषतः महिलाहरूमा यसको आकर्षण छ ।  नेपालजस्तो विकासोन्मुख र भौगोलिक विविधता तथा विकटता भएको देशमा नर्सिङप्रतिको मोह बढ्नु आफैंमा सकारात्मक विषय हो । एउटा नर्स भएको घरका परिवार स्वस्थ हुन्छन्, एउटा परिवार स्वस्थ भएमा समाज स्वस्थ हुन्छ र समाज स्वस्थ भएमा सिंगो राष्ट्र नै स्वस्थ हुनेमा दुईमत छैन । तर नेपालमा तिनै नर्स विभिन्न बहानामा पीडित छन् । न्यून पारिश्रमिकमा काम गर्नु उनीहरुका लागि ठूलो पीडा हो । एउटा नर्सले अस्पतालमा रातिको समयमा एक्लैले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । त्यस्तै, लामो समयदेखि नयाँ कोटामा दरबन्दी नखुल्दा नर्सहरु निजी अस्पतालमा अति कम शुल्कमा जागिर खान बाध्य छन् । अध्ययन पूरा गरेपछि हरेक तहको अध्ययनमा भोलेन्टियर बनेर काम गर्नुपर्ने पनि नर्सहरुको अर्काे पीडा हो । १० देखि १२ लाख खर्चेर वर्षौं लगाएर पढेका नर्सले निजी अस्पतालमा अहिले पनि मासिक १०÷१२ हजारमा मात्रै काम गर्न बाध्य छन् । स्नातक र स्नातकोत्तर गरेका नर्सहरुले प्रवीणता मात्रै गरेकासँग एकै तहमा काम गर्नुपरेको छ । यो अत्यन्त दुखद् हो । नर्सिङ पेशा आफैमा गर्व गर्न लायक भए पनि नीतिगत रुपमा सुधार नहुँदा यो पेशा पीडादायिक बनेको छ । तसर्थ गुणस्तरीय स्वास्थ्य सेवा दिन नर्सको महत्वपूर्ण योगदान रहेकाले उनीहरुको समस्यामा सरकार गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update