Shittalpati
बुटवलमा जग्गा नापजाँचको काम सुरु

बुटवल, बुटवलमा जग्गा नापजाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले वडा नम्बर १२ र १३ मा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँच सुरु गरेको हो ।

उपमहानगरपालिकाले अव्यवस्थित बसोबास तथा भूमिहिनहरूको समस्यालाई दीर्घकालिन रूपमै सामधान गर्ने गरी नापजाँचको काम अगाडि बढाइएको जनाएको छ । वडा नम्बर १२ दुर्गानगर र वडा नम्बर १३ को तारा टोलमा नापजाँच नभएका जग्गाहरुको नापजाँचका लागि उपमहानगरपालिकाबाट प्राविधिक टोली खटिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवलका लालपूर्जाविहिन जग्गाहरुको नापजाँच गरी साउनभित्रै लालपूर्जा वितरण गर्ने गरी काम अगाडि बढेको बताए । उनले यसअघि बुटवल ११ मजुवाका ५ वटा टोलमा १ हजार ७ सय ५० घरघडेरीको नापजाँच सकिएको र त्यसअघि बुटवल ११ प्रगतिनगर १ हजार ७ सय ५२, बुटवल २ पाखापानी, मनकामना टोल, सिर्जनानगरमा ९ सय ५०, बुटवल १४ कैलाशनगर ६५ वटा, बुटवल १४ विनायकपूर १०० जति घरघडेरीको नापजाँच भइसकेको बताए । प्रक्रिया पूरा भएका जग्गाहरुको लालपूर्जा दिने तयारीका साथ बुटवल उपमहानगरपालिका र भूमि समस्या समाधान आयोगले काम गरिरहेको उनले बताए । भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले बुटवल उपमहानगरपालिकाको क्रियाशीलताका कारण सबैभन्दा सुुरुमा बुटवलमा लालपूर्जा वितरण हुने गरी काम भइरहेको बताए । उनले प्रक्रिया पूरा भएका घरघडेरीको लालपूर्जा दिने गरी काम अगाडि बढेको बताए । १२ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्मा उपाध्यायले लालपूर्जाविहिन जग्गाहरुको नापजाँचमा वडाबाट पूर्ण रुपमा सहजीकरण हुने र कुनै विवाद नगरी नापजाँच अगाडि बढ्ने बताए । १३ का वडा अध्यक्ष नारायणप्रसाद पुनले लालपूर्जा नपाएका घरधनीहरुलाई पूर्जा दिने गरी सुरु भएको काममा सबैको साथ र सहकार्य जरुरी रहेको बताए । डिजिटल नापी भएका कारणले कुनै समस्या नआउने गरी नापजाँच हुने उपमहानगरपालिका नापी शाखाका त्रिदेव बुढाथोकीले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update