Shittalpati
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकलाई विदाई

पाल्पा । दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकहरुलाई सम्मान सहित विदाई गरिएको छ । बन्दाबन्दीका बेला एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको पाल्पाको पश्चिम भेगमा रहेको सामुदायिक रेडियो मुक्तिनाथले एक औपचारिक कार्यक्रमका बीच शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । रेडियोले तानसेन रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउर्दै आएका पाँच जना शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ ।

कोरोनाका कारण एसइई परीक्षा स्थगित भएपछि अंग्रेजी, गणित, नेपाली विज्ञान तथा सामाजिक विषयमा रेडियोले दैनिक ५ घण्टा पठन–पाठन गर्दै आएको थियो । रेडियोबाट अध्यापन गराउदै आएका शिक्षकहरु जर्नादन पाण्डे, खिमानन्द पोखरेल, यमलाल ज्ञवाली, दोमोदर घिमिरे र मेघनाथ घिमिरे लगाएतलाई सम्मान गरिएको रेडियोले जनाएको छ । सम्मानित शिक्षकहरुले विद्यालयमा गरेको शिक्षण भन्दा रेडियोबाट दिने शिक्षण जटिल भएता पनि रेडियोबाट बोल्ने बानिको विकास समेत भएको बताउदै गाउँपालिका र रेडियोले गरेको सम्मानले आफुहरुलाई शैक्षिक गुणस्तर सुधारमा थप हौसाला मिलेको बताएका थिए ।

सम्मान पत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष राम बहादुर कार्की, सामाजिक विकास केन्द्रका संयोजक विष्णु पोखरेल लगायतले दुरशिक्षा रेडियो कार्यक्रमले शिक्षा क्षेत्रमा नयाँ सिकाईका साथ नयाँ मोड लिएको भन्दै महामारी र बन्दाबन्दीका बेला रेडियोले सञ्चालन गरेको ल्याएको कार्यक्रमले विद्यार्थीहरुलाई धेरै ठूलो सहयोग पुगेको धारणा व्यक्त गरे । शिक्षा शाखा प्रमुख निशा पाण्डेले रेडियो कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताईन् । उनले यस्ता शैक्षिक गतिबिधिहरु रेडियोबाट अन्य समयमा पनि प्रशारण गर्न सुझाव दिईन । कार्यक्रममा शिक्षा शाखाका राजाराम भाट गाउँपालिका उपाध्यक्ष चेतना थापा कार्यपालिका सदस्य र  वडा अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । सोही अवसरमा रेडियोका स्टेशन म्यानेजर भुवन रायमाझीलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update