Shittalpati
राजनीतिक स्वार्थमा रुमलिएको गणतन्त्रका वर्षहरु

विधिको साशनको भजन गाउँदै बेथितिलाई प्रोत्साहन गर्ने साशन व्यवस्थालाई आज भोली गणतन्त्र रहेछ भन्दै छलफलको विषय बनाएको सुनिन्छ । गणतन्त्र जनताको साशन व्यवस्था हो । यो आफैमा खराब भने पक्कै होइन । यसलाई खराब, विकृत र आलोचनायुक्त बनाउने काम राजनीतिक दल र तीनका नेतृत्वको व्यवहार र कार्यशैली नै हो । हुन पनि गणतन्त्रका करीब १७ बर्ष केही न केही बेथिती, काण्ड, राजनीतिक आरोप प्रत्यारोप, राजनीति अस्थिरता र सरकार परिवर्तन जस्ता पक्षले प्राथमिकता पाएर वितेका कुरामा दुईमत नरहला । यहि कारण गणतन्त्रप्रति आशा भन्दा निराशाका स्वरहरु दिन प्रती दिन बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

जेष्ठ १५ गते अर्थात् आज गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी सरकारको रहेको छ । यसैका नाममा देशको करोडौं रकम समाप्त हुने छ तर जनताको साशन व्यवस्था मानिने गणतान्त्रिक साशन व्यवस्था पछि गरिबी घट्ने, रोजगारीका अवसरहरु सिर्जना हुने, युवा विदेश पलायन र परिवार पाल्नका लागि विदेशी भूमिमा श्रम बेच्नु पर्ने अवस्थाको अन्त्य हुन्छ, देश विकासले गति लिने जुन कल्पना गरिएको थियो पुरा हुने दिशामा देश हिडेको देखिदैन् । यहि कारण व्यवस्थाप्रति आलोचना, निराशा र बिरोधका आवाजहरु बढ्दै गएको देखिन्छ । पहिले जस्तै सिमित वर्गले लाभ लिन, सिमित वर्ग रमाउने, तीनै वर्गले लाभ लिने आम जनताले परिकल्पना गरेको गणतन्त्रमा अटाउने थिएन् । गणतन्त्र दिवस, गणतन्त्रका विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । जनताको साशन व्यवस्था मानिने गणतान्त्रिक साशन व्यवस्था अभ्यासको करिव दुई दशक अवधि पुरा गर्दै गर्दा यसबाट राजनीतिक नेतृत्व र त्यसको वरपर घुमिरहने सिमित कार्यकर्ता बाहेक अधिकाश जनतामा सकरात्मक आशा जगाउन नसकेको कुरामा दुईमत रहँदैन् । जनताको साशन व्यवस्था मानिने गणतन्त्र पनि जनताको साशन व्यवस्था बन्न सकेको देखिदैन् । जनताको चाहना र आवश्यकता एकातिर देश सञ्चालन राजनीतिक दल र तीनका नेतृत्वको कार्यशैली र व्यबहार अर्को तिर हुनु यस साशन व्यवस्थाको सबै भन्दा खराव पक्षको रुपमा रहेको देखिन्छ । यहि कारण विस्तारै विस्तारै गणतान्त्रिक साशन व्यवस्थाका विपक्षमा मत बढ्दै गएको देखिन्छ । 

मन लागि नलागि राजतन्त्रको कुरा गर्न जनता बाध्य भएको देखिन्छ । देश सञ्चालकको कार्य शैलीलाई लिएर व्यवस्था माथि नै प्रश्न उठाउने अवस्थामा जनता पुगेको देखिन्छ । जनताको साशन व्यवस्थामा उत्कृष्ट मानिने गणतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ । देखिएका बेथिति अन्त्य कसरी गर्न सकिन्छ, कसरी यसलाई लोकप्रिय बनाउन सकिन्छ गणतन्त्र दिवसमा उल्लेखित पक्षलाई लिएर बहसको विषय बनाउनु पर्ने देखिन्छ । देश विकास र जनताको जीवनस्तर सुधार साशन व्यवस्था परिवर्तन हँुदैमा संविधान, ऐन कानुनका निर्जीव शब्दहरु परिवर्तन गर्दैमा हुँदो रहेन्छ भन्ने उदाहरण संविधान निर्माणको करिव एक दशक अवधि बेथित हुँदै गर्दा प्रष्ट भएको छ । राजनीतिक नेतृत्वको कार्य शैली, कार्य व्यवहारमा परिवर्तन नहुँदासम्म यी सबै अर्थहिन हुने रहे छन् । साशन व्यवस्था हैन साशन शैली परिवर्तन आजको आवश्यकता रहेको गणतन्त्रका यी वर्षहरुबाट प्रमाणित भएको छ । देश सञ्चालक मुख्य राजनीतिक दलका नेतृत्वले आफुहरु असफल हुँदा, आलोचित हुँदा पूर्व राजा तथा राजतन्त्र व्यवस्थालाई अन्य राजनीतिक दललाई, अन्तर्राष्ट्रिय देश तथा संस्थालाई दोष दिएर उम्कीन खोजेको देखिन्छ । यो साशन व्यवस्था सञ्चालकको सबै भन्दा खराब पक्ष हो । यसमा सुधार गरि जिम्मेवारिता र उत्तरदायित्व बहन गर्नु पर्ने प्रवृत्तिको विकास गर्नु पर्ने देखिन्छ ।

भ्यू टावर निर्माण गर्नु, रेल र पानी जहाजको सपना देखाउन साँचो विकास हैन । विकासले जनताको दैनिकी र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । गणतन्त्रमा जनताको आश यसैमा केन्द्रीत छ । धुलो मुक्त सडक यात्रा कहिले होला ? आम जनताको लागि वास्तवमा शिक्षा निःशुल्क कहिले होला? आमनागरिकको जस्तो सुकै स्वास्थ्य उपचार निःशुल्क कहिले होला ? सरकारले कर ,शुल्क र भन्सार शुल्क बाहेक अन्य आम्दानीको स्रोत कहिले खोज्ला ? सामान्य नागरिकसँग पनि आफ्नो नीजि गाडि कहिले होला ? जहाज चड्ने हैसियत कहिले बनाउलान ? रोजगारीको ग्यारेन्टी कहिले होला ? कामको खोजिमा विदेशिने र युवा पलायनको अन्त्य कहिले होला ? रेमिटान्स बाहेक राज्यको आम्दानीको स्रोत व्यापार कहिले बन्ला ? नागरिकको गाँस, बास र कपासको जिम्मा राज्यले कहिले लेला ? यी उल्लेखित प्रश्नको उत्तर आमनागरिकले प्राप्त गरेको दिन वास्तविक जनताको साशन व्यवस्था गणतन्त्रले सार्थकता पाउने देखिन्छ । तथ्यांक र सिद्धान्तमा हैन व्यवहारमा देश विकासउन्मूख अवस्थामा पुगेको, जनताको जीवनस्तर सुधार भएको हेर्नु आजको आवश्यकता हो ।

गणतन्त्रमा उत्पन्न बेथिति / कमजोरी :
– अत्याधिक भ्रष्टचार बढ्दै जानु, सम्बन्धित निकायले काम गर्न नै नसक्नु ।
– वित्तीय अनुशाशन कायम गर्न नसक्दा बेरुजु र आर्थिक बेथिती बढ्दै जानु ।
– राज्यका निकायहरु नियन्त्रण बाहिर जानु ।
– राजनीतिक भागवण्डा कायमै रहनु ।                                                                                                                           – राजनीतिक अस्थिरता उस्तै हुनु ।
– राजनीतिक हस्क्षेप अत्याधिक बढ्दै जानु ।
– देश र जनतामा केन्द्रीत हुनुपर्ने साशन व्यवस्था स्वार्थमा केन्द्रीत हुनु ।
– उहि र उनै सिमित वर्ग रमाउने, अवसर पाउने व्यवस्थामा रुपान्तरण हुनु ।
– असमानुपातिक र शक्तिको आडमा बजेट बाँडफाड हुनु ।
– विधिको साशन ,सुशाशन बोलीमा मात्रै सिमित हुनु ।
– संविधान, ऐन नियमको पालना हैन्, आफु अनुकुल प्रयोग गर्नु ।
– संवैधानिक निकायहरुले सरकारको हस्तक्षेपका कारण काम गर्न नै नसक्नु ।
– आदेश र स्वार्थको साशन सञ्चालनको अभ्यास हुनु ।
– जवाफदेहिता, पार्दशिताको अभाव हुनु ।
– अपराधी, ठगी कार्य बढ्दै जानु ।

गणतन्त्रमा सुधार गर्नु पर्ने पक्षहरु :
– कर, शुल्क र भन्सार दरमा कटौती गरी आम्दानीका विकल्प खोज्नुपर्ने ।
– राजनीतिक स्थिरता र स्थिर सरकारको खोजी गर्नु पर्ने ।
– राज्यका निकाय तथा संवैधानिक अ·हरुलाई स्वायतता प्रदान गर्नु पर्ने ।
– गुटगत स्वार्थ र स्वेच्छाचारी अवस्थाको अन्त्य हुनुपर्ने ।
– सरकारी खर्चमा मितव्ययीता अपनाउने ।
– सुशाशसन र विधिको साशनको पालना र अभ्यास हुनुपर्ने ।
– भ्रष्टचार र बेथितीको अन्त्य हुनुपर्ने ।
– दण्डहिन्ता र राजनीतिक आरक्षणको अन्त्य हुनुपर्ने ।

गणतन्त्रको विकल्प गणतन्त्र नै हो अब यसको विकल्पमा अर्को साशन व्यवस्था बन्न सक्दैन् । यसो भन्दै गर्दा यस साशन व्यवस्थामा मौलाउदै गएका बेथिती र विकृत पक्षमा सुधार गरिएन भने यो साशन व्यवस्था परिवर्तनका आवाज बढ्दै जानेमा दुईमत रहदैन् । साशन व्यवस्था अब देश र जनतामा केन्द्रीत हुन जरुरी देखिन्छ । राजनीतिक हस्तक्षेप, व्यक्तिगत स्वार्थ, राजनीतिक आरोप प्रत्यारोप, व्यक्तिगत इच्छा र इगोको आधारमा नभई देश र जनतालाई केन्द्रमा राखेर साशन सञ्चालन आजको आवश्यकता रहेको छ ।

निष्कर्ष :

लामो समयको प्रयास, दशंकौको बहस र छलफल, संयौको बलिदानी, लामो समयको आन्दोलन परिणाम हो गणतन्त्र । स–साना छालहरुले यसको जगलाई हल्लाउने तागत राख्न सक्दैनन् । गणतन्त्र आफैमा खराब र विकृत्त व्यवस्था होइन । राजनीतिक दलका नेतृत्वकर्ताको कार्य शैली र व्यवहारले यसलाई आलोचित बनाएको हो । यस व्यवस्थामा आज भोली बढ्दै गएको आलोचना र बिरोधका आवाजको प्रतिकार्यका लागि गर्न नै पर्ने एक मात्रै कार्य हो गणतन्त्रमा मौलाउदै गएको विकृत्तिको अन्त्य र यसको सुधार । गणतन्त्र दिवस – २०८२ को सम्पूर्णमा शुभकामना ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update