 
                                                पाल्पा( शिध्देश्वर ), पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका – १ सिद्धेश्वरको जंगलमा डढेलो निभाउंन जाँदै गर्दा आइतबार राती स्थानीय युवाहरु सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु१ज २३७७ नम्बरको जिप चढेर सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका उनीहरु सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
 स्थानीय पत्रकार भुवन रायमाझीका अनुसार सर्वोत्तम सिमेन्टको खानी नजिकै जिप १५० मिटर तल   खसेको छ ।  
मृत्यु हुनेमा रैनादेवी छहरा –१ सिद्धेश्वका ३६ बर्षीय दिपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण वि.क. र २३ वर्षीय जनक रेगामी रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका लागि  तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगि चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परी घाईते हुनेमा जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा रहेको छन् । घाइते दुबै जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ । उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    