
भरत आचार्य
तानसेन । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै सिद्धार्थ आर्थिक करिडोर अन्तर्गतका स्थानीय तहहरुले कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने भएका छन् । तानसेन नगरपालिकाले आयोजना गरेको पूर्व बजेट तयारी सम्बन्धी भर्चुअल बैंठकमा करिडोर अन्तर्गतका स्थानीय तहरुले आगामी बजेट, नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने बताएका हुन् ।
उनीहरुले कोभिड–१९ का कारण सबै क्षेत्र प्रभावित भएकाले स्वास्थ्यलाई प्राथमिकथा दिन र विदेशबाट फर्कने नेपालीहरुलाई कृषि, पशु र उद्यमशील विकासमा सहयोग हुने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । कन्फ्रेन्समा सहभागी गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्मा पौडेल, प्रदेश पाँचका प्रदेश आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.शंकर शर्मा, स्वास्थ्य विज्ञ डा.समिरमणी दिक्षित, युएनडिपीका प्रतिनिधि सुदिप अर्याल, दि एसिया फाउण्डेशनका डाईरेक्टर विष्णु अधिकारी, ईपिआईका डा.नरबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी लगायत करिडोरमा आवद्ध पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले बढीभन्दा बढी रोजगारी सिर्जना हुने र आयात प्रतिस्थापन गर्ने कृषि क्षेत्र र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर बजेट नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्ने गरी बजेट ल्याउनु अहिलेको आवश्यकता रहेको औल्याएका छन् । कृषि उत्पादकत्व वृद्धि र आत्मनिर्भर हुने दिशामा सबै स्थानीय तहहरु केन्द्रित हुन सके वर्तमान परिस्थितीसँग डटेर सामना गर्न सकिनेमा सहभागीहरुले जोड दिए । उनीहरुले अहिलेको अवस्था भनेको तत्कालै रोजगारी दिने र प्रतिफल प्राप्त हुने क्षेत्र भनेको कृषि नै भएकाले त्यसतर्फ सबैले ध्यान दिन सके जीडीपी वृद्धि गर्न समेत सकिने बताए । दश स्थानीय तहका प्रतिनिधि सहभागी बैठकमा वैदेशिक रोजगारीका कारण मुलुकको कृषि क्षेत्र पछाडी परेको चर्चा गरिएको थियो । सहभागीहरुले कोरोनाका कारण रोजगारी गुमाएर युवाहरू धमाधम फर्किन थालेकाले उनीहरूलाई रोजगारी दिनेगरी बजेट ल्याउनु अहिलेको आवश्यकता रहेको समेत औल्याएका थिए ।
त्यस्तै बैंठकमा सहभागीहरुबाट सिद्धार्थ राजमार्गको आर्थिक विकास करिडोर प्राधिकरण गठनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने, स्थानीय तहको जस्तै गण्डकी प्रदेश र प्रदेश पाँचले प्रदेशस्तरीय नेटवर्क निर्माण गरी कार्यक्रम अगाडि बढाउनुपर्ने, सिद्धार्थ आर्थिक करिडोरको योजना बैंक बनाउनु पर्ने, स्थानीय तहहरुबाट करिडोर विकासका लागि गुरुयोजना तयार गर्नुपर्ने, आर्थिक करिडोरको लागि प्रयाप्त बजेट नभएकाले संघीय तथा प्रदेश सरकारसँग बजेटका लागि ध्यानाकर्षण गराउने, सिद्धार्थ राजमार्र्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रमा निर्माण गरिने सुरुङमार्गको कार्य अविलम्व अगाडि बढाउन माग गर्ने लगायतका निर्णय भएका छन् । कार्यक्रम तानसेन नगरपालिकाको फेसबुक पेजबाट लाईभ प्रशारण गरिएको थियो । जसमा सयौंको सहभागिता रहेको थियो । सिद्धार्थ आर्थिक करिडोरको सचिवालय रहेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षतामा बैंठक भएको थियो । बैंठकमा सहभागीहरुलाई नगरप्रमुख शाहीले धन्यवाद दिदै आर्थिक करिडोरको सहयोगमा साथ दिन सबैलाई आग्रह गरेका छन् । सिद्धार्थ आर्थिक करिडोर अन्तर्गत दुई प्रेदश, ४ जिल्लाका १५ नगर र गाउँपालिका साझा संगठनको रुपमा विकास गर्ने गरी अगाडि बढेका छन् ।