Shittalpati
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने

इमान सिं राना
पाल्पा । लामो समयदेखिको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र उपभोक्ता बढी प्रभावित भएपछि बिहीबारदेखि रामपुर क्षेत्रका बजार आंसिक रुपमा खुल्ने भएका छन् । रामपुर उद्योग वाणिज्य संघले सहजताको लागि निश्चित समय मिलाएर बजार खुलाउन लागेको हो ।

रामपुर नगरपालिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालय सँगको समन्वयमा संघले समय तालिका अनुसार सरकारले तोकेको मापदण्ड अनुसार सामाजिक दुरी कायम गरी बजार खोल्न लागेको छ । जस अनुसार प्रत्येक दिन विहान ६ बजे देखि १० बजे सम्म र साँझ ४ बजे देखि ७ बजे सम्म खाद्यान्न, तरकारी, फलफुल, डेरीका पसल र हार्डवयर तथा निर्माण सामग्रीका पसल खुल्ने भएका हुन् । कपडा, फेन्सी, जुत्ता, पलाष्टिक तथा धातुका भाँडा पसल आईतबार र विहिबार विहान १० देखि ४ बजे सम्म, व्यूटिपार्लर, फर्निचर, फर्निसिङ, कस्मेटिक, होम डेकोरेसन, गिफ्टका पसलहरु सोमबार र शनिबार विहान १० देखि ४ बजेसम्म, मोबाईल, इलेक्ट्रिोनिक्स, इलेक्ट्रिक, फोटोकपी तथा फोटो स्टुडियोका पसलहरु मंगलबार र शुक्रबार विहान १० देखि ४ बजेसम्म, प्लम्बिङ्ग, टायल्स, मार्वल, लुव्रिकेट, मोटर पार्टस, टायर र ग्यारेजका पसलहरु बुधबार र शुक्रबार विहान १० देखि ४ बजे सम्म, मदिरा जन्य होलसेल तथा फुटकर पसल, कोल्ड स्टोर, जुस, बुक्स तथा स्टेशनरी लगाएत अन्य बाँकी पसलहरु शुक्रबार र सोमबार दिउँसो ३ बजे देखि ८ बजेसम्म र होटेल तथा रेष्टुरेण्टहरुले सुरक्षाका सावधानी अपनाएर होमडेलिभरी तथा अर्डर अनुसार चलाउन पाउने भएका छन् ।

रामपुर उद्योग वाणिज्य संघको २८ औं बैठकले तालिका बनाई विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकमा मंगलबार छलफलका लागि पेश गरेको थियो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बन्दाबन्दीले बजार ठप्प हुँदा व्यवसायी मारमा परेको भन्दै केही राहतका लागि यस्तो निर्णय गरिएको बताए । उनले भने, ‘झण्डै ३ महिना देखि व्यवसाय ठप्प हुँदा व्यवसायीहरुले सटर भाडासम्म तिर्न नसक्ने अवस्था आएको छ । उनीहरुको राहतको लागि सुरक्षाको उपाय अपनाएर सामाजिक तथा भौतिक दुरी कायम गर्दै बजार खोल्ने निस्कर्षमा पुगेका हौं ।’ यस अघि जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार तरकारी, डेरी, खाद्यान्न तथा निर्माण सामग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म खुल्दै आएका थिए । यता सरकारले लकडाउनका बीच कर विवरण तथा कर बुझाउनका लागि जारी गरेको सूचना प्रति रामपुर उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराएको छ ।

बुधबार अर्थमन्त्रालयलाई ध्यानाकर्षण पत्र जारी गर्दै संघले बन्दाबन्दीको समयमा उत्पादन र व्यवसायिक कारोबार ठप्प रहेको र अर्को तर्फ अदालतले बन्दाबन्दीलाई शुन्य समय मानेको अवस्थामा कर विवरण बुझाउन तथा कर बुझाउन असम्भव रहेको उल्लेख गरेको छ । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । ‘संघले बन्दाबन्दीले रित्तिएको व्यवसायीहरु सामान्ययीकरण भएको मिति तोकिएको दिन भित्र बुझाउन पूर्व तयारी भएको भए सरकार सबैको अभिभावक भन्ने अनुभूति हुने थियो । माग पुरा नभएमा आन्दोलनमा उत्रिने समेत संघले चेतावनी दिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update