Shittalpati
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन

रमेश विश्वकर्मा
गुल्मी । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीका दलित अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन् । आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गर्दै जातिय छुवाछुत र विभेदको अन्त्य गरौं भन्ने लेखिएका प्ले कार्ड हातमा लिएर धर्ना समेत दिएका थिए । उनिहरुले ‘दलित एकता जिन्दावाद्, पश्चिम रुकुमका दोषीलाई कडा कारवाही गर, फोक्सिङ जातिय विभेद्का दोषीलाई कडा कारवाही गर, रुकुम घटनाका षड्यन्त्रकारी होसीयार, जातिय भेद्भाव अन्त्य गर लगायतका नारा लगाउँदै प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनमा संविधानसभा सदस्य कमला विश्वकर्मा, दलित साँझा मञ्चका अध्यक्ष गणेश विश्वकर्मा, उपाध्यक्ष रोम विश्वकर्मा लगायतले गुल्मीको फोक्सिङमा भएको जातिय विभेद् र रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा घटेको जातिय विभेद र हिंसात्मक घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् । प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरुले आइतबार प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कानुनी कारबाहीको माग गर्दै ज्ञापनपत्र पठाएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको दलित युवा र उनका साथीहरुको हत्या र सांघातिक आक्रमणप्रति जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरुले सरकारसँग घटनामा संलग्नलाई कडा कानुनी कारवाहीको माग गर्दै ज्ञापनपत्र प्रजिअ शर्मा मार्फत प्रधानमन्त्रीलाई पठाएको बताए ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र उनका साथीहरु टिकाराम सुनार, लोकेन्द्र सुनार, सञ्जु वि.क र गणेश वुढा मगरको हत्या भएको थियो । घरेलु हातहतियार सहित लखेटी लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी क्रुरर ज्यादती ढङ्गले नरसंहार एवं हत्या गरी उनीहरुलाई भेरी नदीमा फालेको र गोविन्द शाहीलाई वेपत्ता बनाएको घट्ना अत्यन्तै निन्दनीय भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सुष्मा मल्ल र नवराज विक बीच प्रेम सम्वन्ध भएको र गत शनिबार जेठ १० गते प्रेमीका सुष्माले विहे गर्न भनि बोलाएको बताईएको छ । नवराजको घरतर्फ जाँदै गर्दा त्यहाँका वडा अध्यक्ष, केटीका बुवाआमा सहित गाउँका दुई तीन सय जनाको समुहले लखेटी–लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी भेरी नदीमा फालेको घटनाले कानुनी राज्य माथि प्रश्न चिह्न खडा भएको उल्लेख गरेका छन् ।


घटनामा संलग्नलाई नेपालको संविधान र मुलुकी अपराध संहिता ऐन – २०७४ ज्यान सम्वन्धि कसुर र जातीय भेदभाव तथा छूवाछुत कसुर अन्तरगत हदैसम्मको कानुनी कार्वाहीको जोडदार माग समेत गरेका छन् । त्यस घट्नाले नेपालको संविधान, छूवाछुत मुक्त राष्ट्र र नेपाल सरकारले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको सवै प्रकारका जातीय विभेद सम्वन्धि अन्तराष्ट्रिय महासन्धि लगायतको उपहास भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका फोक्सिङ्गको जातीय विभेदको घटना र पछिल्लो समय देशभरी घटीरहेका जातीय भेदभावका घटनाहरु सेलाउन नपाउदै पश्चिम रुकुमको यो घटनाले गुल्मीमा क्रियाशिल रहेका दलित साझा मञ्च, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित संघ, दलित महिला संघ, दलित पत्रकार संघ, परियार सेवा समाज लगायतका दलित संघ सस्थाहरुको गम्भिर ध्यान आर्कषण भएको बताएको भन्दै त्यस घटनाप्रति घोर भत्र्सना गर्दै खेद प्रकट गरेका छन् । घट्नाको छानविन गरी यथाशक्य घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग जोडदार माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ज्ञापनपत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताउँदै रुकुमको घटनाले आफू पनि दुःखी भएको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update